काठमाडौं। अन्तरराष्ट्रिय विश्वविख्यात समाचार एजेन्सी ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले सार्वजनिक गरेको सन् २०२० मा विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा नेपाली युवती सपना रोका मगर पनि परेकी छन्।

पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी १८ बर्षिया नेपाली युवती सपना रोका मगर बीबीसीले सार्वजनिक गरेको विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा परेकी हुन्।

सपना रोका मगरको अलावा विश्वका प्रभावशाली महिलाहरुको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप विकास अभियानको नेतृत्व गरेकी सारा गिल्बर्टसहितका महिला छन्।

सूचिमा परेकी म्याग्दीकी सपना रोका मगरले बेवारिसे शवहरुको व्यवस्थापन सँगै बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी पनि छन्।

बेवारिसे शवहरुको व्यक्तिगत रुपमा व्यवस्थापन गर्दैआएका विनयजंग बस्नेतवाट प्रभावित बनेर बस्नेतलाई पिता मानेर बस्नेतलाई सघाउंदैआएकी सपना रोका मगरले हालसम्म २७२ भन्दा बढी  बेवारिसे शवलाई दागबत्ति दिएर दाहसंस्कार गर्ने कार्य गरिसकेकी छन्।


प्रकाशन मिति–२०७७ साल मंसीर ९ गते मंगलवार ।