काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) बाट विश्वको बैभबशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पनि संक्रमित बनेका छन्। ट्रम्पका नजिकका सहयोगी होप हिक्सलाई संक्रमण पुष्टि भएलगत्तै गरिएको पिसिआर परिक्षणमा ट्रम्प दम्पत्तिको पनि रिपोर्ट पोजेटिभ आएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरोसहित कोभिड–१९ का सामान्य लक्ष्णहरु देखिन थालेपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

ज्वरो आएपनि ट्रम्पको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ट्रम्पलाई अहिले नै अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको भएपनि आवश्यक सावधानी र सतर्कताका लागि अस्पताल लगिएको ह्वाईट हाउसको तर्क छ।

राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण भएको सार्वजनिक भएलगत्तै नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनाव प्रभावित हुने हो कि भन्ने आशंका समेत जन्मिएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल असोज १७ गते शनिवार ।