काठमाडौं। यो बर्षको विश्वप्रसिद्ध फिल्म अवार्ड ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ। अमेरिकाको लस एन्जेलसमा आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित चलचित्र ‘ग्रीन बुक’ उत्कृष्ट घोषित भएको हो। ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रसहित तीनवटा अवार्ड जितेको छ।

यो चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते। यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रह्यो। सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले जितेका छन्। उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए।

सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन्। यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते। चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन्। कुआरोनले सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन्।

यसैगरी सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिगिना किङलाई दिइएको छ।
(समाचार एजेन्सीको सहयोगमा)।
प्रकाशन मिति–२०७५ साल फागुन १४ गते मंगलवार ।