० डायनासोर होइन, डाइनामिक।

०जहाँ बासब त्यहाँ नेवाः संस्कार र संस्कृति ।
–श्याम स्मृत
काठमाडौं। धर्म, संस्कार, संस्कृति र शिक्षाबाट मानिसको आनीबानी तथा आचरणमा परिस्कृतता ल्याउने गर्दछ। जसवाट सभ्य समाज र सभ्यताको विकास गर्ने गर्दछ। शारीरिक र मानसिक दोेषहरूलाई समाप्त गर्नु नै संंस्कारको कार्य हो। मानिस जन्मदेखि मृत्युपर्यन्त गरिने कर्मकाण्ड तथा समय–समयमा मनाइने चाडपर्व नै संस्कार र संस्कृति भएको जिकिर नेवाः संस्कार तथा संस्कृतिका अभियन्ता तथा परिचालक बासब जुजु राजोपाध्यायको रहेको छ।

विगत १५ बर्षदेखि अमेरिकामा रहेर अमेरिकामा रहेका नेपालीहरुलाई नेपाली धर्म, संस्कार, संस्कृति र शिक्षालाई परिचालन गर्न र गराउन उत्प्रेरक भूमिका निर्वाह गर्दैआएका बासब जुजु राजोपाध्यायको लक्ष्य भनेको नै विश्ववाट नेपाली संस्कार र सभ्यता अनि संस्कृति डायनासोर जस्तो लोप हुनवाट बचाउनु हो। नेपाली संस्कार र संस्कृतिलाई डायनासोर होइन, डाइनामिक वनाउने भिजन र मिसनमा रहेका बासब जुजु राजोपाध्यायको अमेरिकामा मात्र नभइकन अष्ट्रेलिया, युरोप, क्यानडासम्म नेपाली तथा नेवाः संस्कारलाई पुस्तेनी पूजाआजा तथा विधिविधान मार्फत जोगाउने कार्यमा ठूलो योगदान रहेको छ।

पुस्तेनी पेशा पुरेत्याइँलाई परिमार्जित गरेर परदेशमा नेपाली नयाँ पुस्तामा अझ नेवाः संस्कार र संस्कृतिको प्रबर्दन गर्ने तथा गराउने कार्यमा अहोरात्र खटिरहेका बासब जुजु राजोपाध्यायको धेरैजसो समय यसै कार्यमा वितिरहेको छ। १५ बर्षको अमेरिका बसाईको क्रममा अमेरिकाको ५० राज्यमध्ये ४८ राज्यमा पुगेर नेवाः संस्कार र संस्कृतिको संवद्र्धन तथा प्रबर्दन गर्ने र गराउने कार्यमा सफलता पनि बासब जुजु राजोपाध्यायलाई मिलेको छ। जसको कारण अमेरिका जस्तो बैभवशाली देशमा पनि नेवाः संस्कार तथा संस्कृतिले स्थान पाएको छ।

नेवाः संस्कार तथा संस्कृतिलाई रहस्य तथा रोमाञ्चक खुल्दुलीको रुपमा विश्वले हेरिरहेको अवस्थामा बासब जुजु राजोपाध्याय जस्तो संस्कार तथा संस्कृतिका अभियन्ताको अहोरात्र मेहनतका कारण सन् २०१३ देखि अमेरिकाको राजधानी वासिङ्गटन डीसीवाट शुरुभएको इन्द्रजात्रा मनाउने प्रचलन हालआएर अमेरिकाको १२ वटा राज्यमा नेपालकै झझल्को आउने गरेर इन्द्रजात्रा मनाउने प्रचलन स्थापित भएको छ। Promotion – Preserve– Practice नै बासब जुजु राजोपाध्यायको गुरू मन्त्र हो। यसलाई गुरु मन्त्र मानेर नेपालको संस्कृतिलाई अमेरिकामा पस्कने कार्यमा बासब जुजु राजोपाध्यायलाई सफलता मिलेको उनी आफै स्वीकार्छन्।

अमेरिकामा इन्द्रजात्रा मनाउने प्रचलनलाई प्रतिस्थापित गरेयता बासब जुजु राजोपाध्यायकै निर्देशन र परिकल्पनामा इन्द्रजात्राको इतिहास विषयमा नाटक समेत अमेरिकामा मञ्चन गर्ने कार्य पनि भएको छ। जसवाट अमेरिकामा रहेका सबैलाई इन्द्रजात्राको महत्व बुझाउने कार्यमा पनि सफलता मिलेको छ । त्यस्तै, बैज्ञानिक कारण समेत रहेको अतुलनीय नेवाः संस्कारभित्रको सामूहिक इहि संस्कार, बाह्रा संस्कार, सामूहिक ब्रतबन्ध, अमेरिकाका बिभिन्न स्टेटहरूमा पूजा, स्वस्थानी धर्मब्रत शुभारम्भ देखि समापनसम्मका नेवाः संस्कारको हरेक गतिविधि परदेशमा जीवित वनाउने कार्यमा बासब जुजु राजोपाध्यायको अतुलनीय योगदान रहेको छ।

संस्कार तथा संस्कृतिभित्रको बैज्ञानिक कारण तथा महत्वको वारेमा कौतुहलतापूर्वक जानकारी दिने खुबिलियती बासब जुजु राजोपाध्यायमा रहेको छ। जसवाट परदेशमा नयाँ पुस्ताका नेपाली तथा कतिपय विदेशीहरु पनि आकर्षित बन्ने गरेको छ। संस्कार तथा संस्कृति संवन्धी अध्ययन तथा अनुसन्धानमा नेपालको पूर्वाञ्चल विश्वविद्यालयवाट डिग्री हासिल गरेर जर्मनवाट समेत थप डिग्री लिएर अमेरिका पुगेका बासब जुजु राजोपाध्यायको थातथलो काठमाडौंको न्ह्योंखा टोल हो।

न्ह्योँखा टोलमा जन्मी हुर्केका बासब जुजु राजोपाध्याय आफ्नो सफलताको आधार नै आमा श्रीलक्ष्मी तथा बावु अच्युतानंद राजोपाध्यायबाट पाएको संस्कार नै भएको खुलासा गर्छन्। बिश्वबिद्यालयले त आधिकारिक शिक्षा मात्रै दिन्छ तर, हाम्रो संस्कार र संस्कृतिले जीवन दर्शन गराउने गर्दछ भन्ने बुझाइ उनको रहेको छ।

सन् २०१६ देखि वल्र्ड नेवाः अर्गनाईजेशनको उत्तर अमेरिकाको लागि सांस्कृतिक राजदूतको पदवी पाएर अमेरिका लगायतका विभिन्न देशमा नेवाः संस्कार र संस्कृतिको प्रबद्र्धन गर्नमा तल्लिन बासब जुजु राजोपाध्याय वल्र्ड नेवाः अर्गनाईजेशनको सन् २०१८ देखि अमेरिकाका संस्थापक तथा महासचिव पनि हुन् । लायन्स क्लब अफ बाल्टीमोर नेप्लिज्का संस्थापक सदस्य र सन् २०१९–२०२० को अध्यक्ष समेत रहेका उनी अमेरिकाका बिभिन्न राज्यहरूका नेवाः अर्गनाईजेशनहरूका संस्थापक सदस्य तथा आजीवन सदस्य छन्।

अमेरिकाको राजधानी वासिङ्गटन डीसी स्थित नेपाली राजदूताबासबाट सोशियल लिडरको रूपमा पूर्वमहामहिम राजदूतहरू डा. शंकर शर्मा र डा. अर्जुन कार्कीव्दारा पनि नेपाली संस्कार र संस्कृतिको अमेरिकामा प्रबर्दन गरेवापत उच्च–सम्मान बासब जुजु राजोपाध्यायले हासिल गरिसकेका छन्।

नेवाः संस्कार र संस्कृति भनेको तन्त्रमा आधारित छ । कतिपय तन्त्रहरू बैदिककालभन्दा पनि अगाडि देखि शुरू भएका हुन् । नारी शक्तिलाई आधार मानिएका यी तन्त्रहरु नारी प्रधान भएको ठहर बासब जुजु राजोपाध्यायको छ। नेवाः दर्शनको कुरा गर्ने हो भने मानिस मरेपछि देवता हुने होइन, जीवित अवस्था मै देवताको रूपमा पूज्ने गरिन्छ ।

त्यसको उदाहरण ज्या जंक्व ( भीम रथारोहण) लाई लिन सकिने उदाहरण बासब जुजु राजोपाध्यायले दिएका छन्। ७७ बर्ष ७ महिना ७ दिन पुगेका ज्येष्ठ नागरिकको भीम रथारोहण गरेर देवतालाई जस्तै पूज्ने प्रचलन विश्वमा नै अतुलनीय रहेको भनाई पनि बासबको रहेको छ।

Reviving Newa Culture in USA को अर्को मूल मन्त्र लिएर अगाडि बढ्ने क्रममा नेपालमा बुझाइएका संस्कार र संस्कृति भित्रको बिज्ञानलाई रिसर्च गर्दै सबैलाई बुझाउँदै आएकोले अमेरिकाका सम्पूर्ण राज्यहरूमा बस्ने धेरैजसो नेवाः परिवारहरूले आफूलाई चिन्ने गरेको र आफूलाई माया दिएर ८ देखि १० महिना कुर्नु परेपनि उहाँहरूले बासब जुजु राजोपाध्यायबाट नै पूजाआजा तथा कर्मकाण्ड सम्पन्न गराउनको लागि प्रतिक्षा गर्ने गरेको थुप्रै अनुभव बासबसंग रहेको छ। नेवाः पुरोहित बनेर आफूले पाएको सफलतामा सबैजनाको ठूलो हात रहेको र उहाँहरू सवैलाई नमन गर्न कार्य बासब जुजु राजोपाध्यायले गरेका छन्।

अमेरिकामा बासब नेवाः पुरोहित बनेर नेवाः संस्कार र संस्कृतिको जगेर्ना गर्ने मूलभूत कार्यको अलावा ट्राभल सोलुसन यूएसए (ट्राभल एजेन्सी) र ईन्भेष्टमेण्ट जस्ता ब्यबसायसंग पनि सम्बन्धित भएर कार्यरत छन्। फुर्सद पाउने बित्तिक्कै प्राकृतिक सुन्दरता र प्रकृतिको अनुपम रमझममा रम्न हाइकिङ जानेर गरेका बासबमा गीत तथा कबिता लेख्ने गजबको शौख पनि छ ।

यसै क्रममा पाँच बर्ष अगाडि तिहार संवन्धी नेपालभाषामा गीत रचना गरेर त्यस गीतको म्युजिक भिडियोे पनि बासबले बनाएका थिए । त्यस्तै, दुई बर्षअघि मात्र शिव भजन बासबले लेखेका थिए। त्यस शिव भजन गीत चर्चित गायिका सिने गुरुङले गाएकी थिइन्। मेडिटेसनलाई जीवनकै अभिन्न अंग ठान्ने बासब जुजु राजोपाध्याय। आफूले आफूलाई चिन्ने बाटो नै आध्यात्मिकता हो भन्छन् । जहाँ मेडिटेशन हुन्छ, त्यहाँ मेडिकेशनको आबश्यकता नपर्ने बताउंदै हरेक समस्याको समाधान हाम्रो शरीर र दिमागमा नै हुने गरेको जिकिर पनि बासबको छ। त्यसलाई बुझेर साधना गरेमा शरीर र दिमागवाटै समाधान निस्किने बासबको बुझाइ छ।

अहिलेको यो कोभिडको कहर ले संसारलाई नै आहन्त पारेको छ । तर पनि जूम जस्ता टेक्नोलोजीहरू प्रयोग गरी अमेरिकाका बिभिन्न स्टेटहरू, क्यानाडा, यूरोप अस्ट्रेलिया, नेपालमा समेत बासबले नेवा संस्कारहरू गराउदै आएका छन्। मेटाफिजिक्स साईन्समा बिशेष अभिरुचि राख्ने बासब नेवाः संस्कार संवन्धी अनेक लेखहरू प्रकाशित भैसकेका छन्। नेवा कल्चर संवन्धी किताब पनि लेख्दैगरेको र त्यो प्रकाशित भएपछि नेवाः संस्कार र संस्कृतिलाई बुझ्न र बुझाउन सहयोगी बन्न सकिने आशा तथा विश्वास बासब जुजु राजोपाध्यायको रहेको छ।
(नामी साप्ताहिकवाट साभार )
प्रकाशन मिति–२०७८ साल जेठ १५ गते शनिवार ।