काठमाडौं।  कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण कारण मुम्वईको नानावती अस्पताल भर्ना भएका बलिउडका विश्वविख्यात अभिनेता अमिताभ बच्चन कोरोना मुक्त भएका छन्।

७७ बर्षका अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आइतवार अस्पतालवाट डिस्चार्ज भएका छन्। अमिताभ बच्चनले पनि ट्वीट गरेर कोरोना नेगेटिभ आएको जानकारी दिएका छन्। भगवानको कृपा र आमाबुवाको आशीर्वादले आजको दिन देख्न पाएको भन्दै अमिताभले नानावटी अस्पतालका कर्मचारीको प्रशंसा गरेका छन्। साथै दर्शकलाई धन्यवाद दिएका छन्।

अमिताभलाई दुई हप्ता अघि कोरोना संक्रमण देखिएको थियो। उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्यालाई पनि संक्रमण देखिएको थियो। उनीहरु यसअघि नै संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।


प्रकाशन मिति–२०७७ साल साउन १८ गते आइतवार ।