काठमाडौं। विश्वभर छरिएर रहेका नेवारहरुको संगठन विश्व नेवाः अर्गनाइजेशनको अमेरिका च्याप्टरले वर्तमान युवा पुस्तालाई लक्षित गरेर स्टेप टु सक्सेस नामक विशेष कार्यक्रम गर्ने भएको छ। विश्व नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरको युथ डिभिजनको तत्वावधानमा उक्त कार्यक्रम हुन लागेको हो।

विश्वभर जारी लकडाउनको कारण डिजिटल प्लेटफर्मको प्रयोग गरेर उक्त कार्यक्रम गर्न लागेको जानकारी विश्व नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टर अन्तर्गत युथ डिभिजनका संयोजक सुनिल माथेमा प्रधानले भिजन संसार डटकमलाई बताएका छन्। टक टु टक यस विशेष कार्यक्रमले युवा पुस्तालाई सफलताको बाटोतिर अग्रसर बनाउन अत्यन्त सहयोगी हुने राय संयोजक प्रधानको रहेको छ।

यो कार्यक्रम यही मे २९ तारीख तदानुसार जेठ १६गते शुक्रवारका दिन अमेरिकाको ईस्टर्न स्टाएण्डर्ड टाइम अनुसार बेलुकीको ९ बजे देखि शुरु हुने भएको छ। इनेप्लिजको फेसबुकबाट लाइभ प्रसारण हुनेपनि भनिएको छ। विशेष गरी विश्वभरी छरिएर बसेका युवा पुस्ताका नेवारहरुलाई लक्षित गरेर आयोजना हुन लागेको यो स्टेप टु सक्सेस कार्यक्रमलाई सफलताको बाटोको रुपमा लिइने पनि संयोजक प्र्रधानले भनेका छन्।

अमेरिकामा रहेर विभिन्न क्षेत्रमा कार्यरत विज्ञ नेपालीहरुले आ–आफ्नो सफलताको अनुभव सुनाउँदा आजका युवा पुस्ताले आफ्नो लक्षित पेशामा कसरी सफल हुन सकिन्छ भन्ने ज्ञान हासिल गर्न सकिने भनिएको छ।

सो स्टेप टु सक्सेस कार्यक्रममा अमेरिकाको आक्रोन चिल्ड्रेन हस्पिटलका विशेषज्ञ डा.प्रबि राजभण्डारी, जोन हप्किंस युनिभर्सिटीका एरोस्पेस ईन्जिनियर डा.इलेना श्रेष्ठ र इन्जिनियरींग फर रोम्बस इनर्जि सोलुसन्सका उपाध्यक्ष पावर ईलेक्ट्रोनिक्स डा.अनिल तुलाधरले आ–आफ्ना पेशामा हासिल गरेको सफलताको अनुभव सुनाउने भएको छ। रमा महर्जनले यस कार्यक्रमको सहजकर्ताका रुपमा कार्य गर्ने भएकी छन्।
प्रकाशन मिति–२०७७ साल जेठ १४ गते बुधवार ।