काठमाडौं। आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मे ३ तारिखका दिन मनाउने गरिन्छ। यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ। कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने नहुने भएको छ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो। नेपालको संविधान विसं.२०७२ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ। नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन विसं.२०६४ र नियमावली विसं.२०६५ समेत जारी भइसकेका छन्।

रिपोर्टर विदाउट बोर्डरले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२औं स्थानमा रहेको देखाएको छ। गत वर्ष नेपाल १०६औँ स्थानमा थियो। दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ।

नेपाल पत्रकार महासङ्घले राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकार गिरफ्तारका घटना बढी देखिएको जनाएको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएको महासंघको ठहर छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।