काठमाडौं। व्यावसायिक पत्रकारिताका धरोहर कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ गंभीर विरामी परेका छन्। प्रधान सम्पादक श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा केही दिनदेखि उपचार हुँदै आएको प्रकाशनले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।

करिब चार महिना अघि नाकमा समस्या भएका कारण प्रधान सम्पादक श्रेष्ठको राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म श्रेष्ठको स्वास्थ्य स्थिति सामान्य रहेपनि मृगौलाको पत्थरीको शल्यक्रिया पश्चात श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए ।

स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण श्रेष्ठलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले श्रेष्ठलाई Guillain-Barre syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गर्यो ।

मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि श्रेष्ठलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो । काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

यसरी श्रेष्ठको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबार देखि नेपाल मेडिसिटी अस्पताल पु-याएर सघन उपचार कक्षमा उपचार हुँदै आएको छ । श्रेष्ठको नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उहाँको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

चिकित्सकहरुले आफ्नो ज्ञान, विवेक र प्रविधिले भ्याएसम्म श्रेष्ठको उपचार गर्दै रहेका छन्। यसबीचमा श्रेष्ठको स्वास्थ स्थितिप्रति सञ्चारकर्मी, इष्टमित्र, आफन्त, राजनीतिक व्यक्तित्व, उद्योगी व्यवसायीलगायत सबै शुभेच्छुहरुले चासो राख्दै आएका छन्। सबैको आर्शिवाद, शुभेच्छा र कामनाका कारण श्रेष्ठमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भई पुनः सक्रिय पत्रकारिता गर्न सक्षम हुनुहुनेछ भन्ने प्रार्थना कामना न्यूज पब्लिकेसनका प्रमखु कार्यकारी अधिकृत एवम् प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठव्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ७ गते विहीवार ।