काठमाडौं। नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर नै मानिएका सिद्धहस्त पत्रकार तथा कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष एवम् प्रधान सम्पादक पुष्करलाल श्रेष्ठव्दारा लिखित यात्रा बृतान्त प्रकाशन भएको छ। नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको हो।

पुष्करलाल श्रेष्ठद्वारा प्रतिष्ठापित कामना प्रकाशन समूहको ३७ औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणलाई प्रकाशनमा ल्याएर श्रेष्ठप्रति अनेक अनेक सम्झना तथा समर्पण गर्ने कार्य कामना प्रकाशन समूहले गरेको छ। प्रकाशित पुस्तकमा पुष्करलाल श्रेष्ठले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

पुस्तकमा पुष्करलाल श्रेष्ठको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । विश्वका करिब एक सय देश भ्रमण गरेका पुष्करलाल श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता समेत पुस्तकमार्फत प्रकट गरेको पाइन्छ। नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ।

मानवीय भावना र संवेदनालाई पनि स्वर्गवासी पुष्करलाल श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेट्ने प्रयास गरेको पाइन्छ। माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुगेको बेला पुष्करलाल श्रेष्ठले पाएको दुःख र तनाबका सन्दर्भ सुन्दा अमेरिकाको आप्रवासनमा रहेका नेपालीहरुको आँखा रसाएको अनुभूतिले मात्र पनि पाठकलाई भावविह्वल बनाउँछ भने उनको यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने विश्वास गर्न सकिन्छ।

नेपाली पत्रकारिताको संस्थागत विकासमा देखिएका उतार–चढाव र भित्री सन्दर्भहरु बुझ्नका लागि पनि ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पढ्नै पर्ने स्रोत सामग्री बनेको छ।


प्रकाशन मिति–२०७७ साल मंसीर १४ गते आइतवार ।