काठमाडौ। दुवै खुट्टा चल्दैन। दिमाग भने तेजले चल्छ। त्यही तेज दिमागको पावरले दुई हातले हालसम्म ७० हजारभन्दा बढीलाई फेशन डिजाइन तथा सिलाई तालिम दिने कार्य भएको छ। जुन चानचुने कार्य होइन्। कयनको रोजीरोटी र जीविकाको माध्यम बनेको फेशन डिजाइन तथा सिलाईको तालिम दिएर आत्म–निर्भर बनाउने चमत्कारिक प्रतिभाशाली व्यक्तित्व अरु कोही नभइकन ललितपुरको श्रीदरबार टोल छाय्बहाल निवासी अमृतरत्न शाक्य हुन्।

दुवै खुट्टा अशक्त भएको कारण अमृतरत्नको खुट्टा भनेकै व्हीलचेअर हो। व्हीलचेअरको सहयोगवाट दिनमा सयौंलाई फेशन डिजाइन तथा सिलाई तालिम दिन अत्यन्त व्यस्त बनिरहेको पाइन्छ। विहान ७ बजे ललितपुरको छायबहाल स्थित ए.आर.फेशन डिजाइन तथा सिलाई इन्ष्टिच्युटमा पुग्ने दैनिक ड्युटी नै रहेको छ–अमृतरत्नको।

विहान ७ बजे त्यहाँ बसेर सयौलाई फेशन डिजाइन तथा सिलाईको तालिम दिएर घर फर्कदा त्यस्तै राति ७ बजिहाल्छ। यो अमृतरत्नको दैनिक रुटिङ नै हो। यो रुटिङसंग भिजेको पनि २६ बर्ष वितिसकेको छ। उमेरको हकमा ४९ बर्ष पुगिसकेको सुनाउंछन्। आफूले फेशन डिजाइन तथा सिलाई सिकाएका कयन देश तथा विदेशमा बुटिक तथा टेलर्स खोलेर स्वरोजगार बनेको तथा कयनलाई रोजगारी दिएको खवर बोकेर आउंदा अमृतरत्नको मन त्यसैपनि फुरुङ भएर आउने गर्दछ।

अर्कोतर्फ आफूले सिकाएका विद्यार्थीहरु फेशन डिजाइन तथा सिलाईको सीपवाटै सीपवान बनेर स्वदेश तथा विदेशमा रोजगार बनेर परिवार पालिरहेको खवरवाट अमृतरत्न निक्कै हर्षित बन्ने गरेका छन्। प्रारम्भका दिनमा कतिले अशक्त भएको कारण कतिले नपत्याएतापनि अमृतरत्नले संघर्ष गर्न छाडेनन्। अमृतरत्नले सिकाएका विद्यार्थीहरुको एक पछि अर्को गरेर गाउं–टोल, समाज अनि देशमा नै ख्याति कमाएर टेलरिङ क्षेत्रमा चमत्कार देखाएपछि भने उनको अत्यन्त डिमाण्ड बढ्यो।

अमृतरत्नको कार्यको ख्यातिले देशभर चर्चा पायो। सिलाई सिक्नु परेमा पाटनमा अमृतरन्तको ए.आर.फेशन डिजाइन तथा सिलाई इन्ष्टिच्युटमा पुगे पुग्छ भन्ने अवधारणा नै पैदा भयो। त्यसले गर्दा अमृतरत्नको इन्ष्टिच्युटमा सिलाई सिक्नेहरुको कुनैपनि दिन कमी भएन। देश–देशावरवाट समेत आउने गरेको त्यहाँको रेकर्डवाट थाहा हुन्छ।

दिनको दुई घण्टा सिलाईको सीप सिकेर उद्यमशीलता तथा रोजगारीको सिर्जनाको लागि सीप सिर्जना आवश्यक छ भन्ने अवधारणा अनुरुप स्थापना गरिएको ए.आर.फेशन तथा सिलाई इन्ष्टिच्युटमा अमृतरन्तलाई साथ दिने उनको जीवन संगीनी महेश्वरी बज्राचार्य पनि रहेकी छन्। दुवै मिलेर इन्ष्टिच्युटलाई अझ अगाडि बढाइरहेका छन्।

अमृतरत्न र महेश्वरीको प्रेम विवाह नै हो। सिलाई सिक्न आउने क्रममा नै दुवैवीच चिनाजानी भएको हो। त्यही चिनाजानी पछि प्रेममा बदलियो। महेश्वरी सवलाङ भएतापनि अपाङगता भएका प्रखर प्रतिभाशाली व्यक्तित्व अमृतरत्नको प्रतिभावाट नै प्रेरित बनेकी थिइन्। त्यो प्रेरणावाट अमृतरत्नलाई जीवनभर साथ दिने कसम नै खाइन्। जुन कसमलाई जीवनमा यथार्थता सावित गराएरै देखाएकी छन्। दुवैको विवाह भएको पनि २९ बर्ष पुगिसकेको छ।

दुवैको जोडी समाजमा उदाहरणिय जोडीको रुपमा मानिएको छ। दुवैको प्रेमको चिनारी छोरो अनुप शाक्य पनि २२ बर्ष पुगिसकेका छन्। यतिखेर अनुप उच्चशिक्षा अध्ययनको क्रममा अष्ट्रेलियामा रहेका छन्। छोराको विवाह पनि भैसकेको छ। छोरा अनुपकासाथमा बुहारी रेजिना पनि अष्ट्रेलियामा नै उच्चशिक्षा अध्ययनकै क्रममा रहेको अमृतरत्न गर्बकासाथ भन्छन्।

जन्मेको बेला अमृतरत्नको दुवै खुट्टा सवल नै थियो। जव उनी ३ बर्षको पुग्यो। तब पोलियो नामक रोगको कारण नराम्ररी थलिए। जसवाट सवल दुवै खुट्टा असवल बन्न पुग्यो। दुवै खुट्टा अशक्त भएतापनि दिमाग तेज भएको कारण जस्तोसुकै कठिनाईमा पनि रत्तिभर पनि विचलित नबनिकन पढाईतिर लागेको बताए। कक्षा १० पढ्ने क्रममा नै सिलाई सिकेर सिलाई व्यवसायमा लागेर यसैमा स्पेस्लाइज गरेर निरन्तरता दिदै लगे।

सिलाईका हरेक कोर्षमा अब्बल बनेर अग्रता कायम गर्दै जानेक्रममा फेशन डिजाइनमा उच्चता हासिल गरेका अमृतरत्नले आशा सोसियल अवार्ड लगायतका विभिन्न अवार्ड जितेका छन्। त्यो भन्दा बढी धेरैको मन जितेका छन्। फेशन डिजाइन तथा सिलाई तालिममा ए.आर.फेशन डिजाइन तथा सिलाई इन्ष्टिच्युटलाई अब्बल बनाउने कार्य अमृतरत्नवाट भएको छ। एक सवलाङले गर्ने कार्य भन्दा धेरै अब्बल कार्य गरेर अमृतरत्नवाट आफूभित्रको आँटलाई गजबले प्रदर्शन गर्न सफलता प्राप्त गरेको छ।

जस्तोसुकै कठिनाईमा पनि आँट तथा धैर्य भएमा एकदिन सफल हुन्छ भन्ने कुराको उदाहरण अमृतरत्न बनेको छ। अमृतरत्नको आँट सवैको प्रेरणाको विषय बनेको छ।

अमृतरत्न शाक्यलाई संपर्क गर्ने ठेगाना–
ए.आर.फेशन डिजाइन तथा सिलाई इन्ष्टिच्युट, छायबहाल, श्रीदरबार टोल, ललितपुर, नेपाल।
फोन नंबर–०१–५५२६७३०
मोवाइल नंबर–९८४१३०४२७२

प्रकाशन मिति–२०७४ साल फागुन ९ गते बुधवार ।