काठमाडौ। एक बर्षअगाडि मात्र रत्नपार्क उद्यानको नयाँ नामांकरण शंखधर उद्यान भएको हो। काठमाडौं महानगरपालिका बाताबरण व्यवस्थापन विभाग अन्तर्गतको यिनै रत्नपार्क स्थित शंखधर तथा रानीपोखरी एकाई कार्यालयले आव २०७४/७५ मा रु एक करोड २७ लाख ४५ हजार आम्दानी गरेको जनाएको छ।

अघिल्लो आ.व.को तुलनामा यो आ.व.मा झण्डै रु १८ लाख आम्दानी वृद्धि भएको हो । आव २०७३/७४ मा सो कार्यालयले रु एक करोड नौ लाख ४८ हजार रकम सङ्कलन गरेको थियो। एकाई कार्यालयले साधारण नेपाली अवलोकनकर्तासँग रु २५ र विद्यार्थीसंग रु १५ उद्यान प्रवेश शुल्क लिदैं आएको छ।

त्यस्तै कार्यालयले परिचयपत्र हेरेर वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई उद्यानमा निःशुल्क प्रवेश गराउने व्यवस्था गरेको छ। एशियन मुलुकका अवलोकनकर्तालाई रु ५० र तेश्रो मुलुकका अवलोकनकर्तासँग रु ७५ लिँदै आएको छ।

हाल उद्यानमा विभिन्न गीतका भिडियोलगायत चलचित्रसमेत छायाङ्कन गरिँदै आएको छ। कार्यालयले गीतको भिडियो खिच्नका लागि प्रतिभिडियो रु पाँच हजार उठाउँदै आएको छ। नेपाली फिचर चलचित्रका लागि रु १० हजार लिँदै आएको छ भने विदेशी चलचित्र छायाङ्कनका लागि रु २० हजार लिँदै आएको छ।

पहिला अस्तव्यस्त रुपमा सर्वसाधारणको लागि खुल्ला हुंदैआएको रत्नपार्क शंखधर उद्यानको नामांकरण गरिएपछि थप व्यवस्थित गरेर नेपाल सरकारले विसं २०७२ असार महिनादेखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो।

उद्यानका एकाई प्रमुख हरिशरण केसीका अनुसार, उद्यानमा दैनिकरुपमा एक हजारदेखि एक हजार २०० सम्मले अवलोकन गर्ने गरेक छन्। दैनिकरुपमा उक्त उद्यान बिहान ८ देखि बेलुका ६ बजेसम्म खुल्ला हुंदैआएको छ।
प्रकाशन मिति–२०७५ साल असोज २ गते मंगलवार ।