काठमाडौ। नेपाली सुगम संगीतका बरिष्ठ गायक जगतमर्दन थापा यतिखेर फेरि चर्चाको विषय बनेका छन्। ८३ बर्षको उमेरमा नयाँ पुस्तामाझ उही पुरानो जोश र जाँगर बोकेर नयाँ एल्बम म पतझड तिमी मधुमास नामक गीति एल्वमका कारण गायक थापा फेरि चर्चामा आएका हुन्।

युगिन गायक थापाको विलकुलै नयाँ तथा चौथो एल्बमको नाम नै ‘म पतझड तिमी मधुमास’ हो। जुन एल्बम विधिवत रुपमा सार्वजनिक भैसकेको छ। नेपालका बरिष्ठ इतिहासविद डा.सत्यमोहन जोशीको हातवाट विमोचन भएर सार्वजनिक भैसकेको यस गीति–एल्वम शब्द, संगीत र स्वरको अदभूत तालमेलले भरिपूर्ण गीति–एल्बम हो।

भारतका ख्यातिप्राप्त गायिका उषा मङ्गेशकरसँग गायक थापाको युगल गायन रहेको ‘म पतझड तिमी मधुमास’ ले फरक मिठास र सौन्दर्यबोध दिलाएको छ। एल्बम ‘म पतझड तिमी मधुमास’ लाई मोहित मर्दन थापाले निर्माण गरेका हुन् भने म्यूजिक नेपालले बजार व्यवस्थापन गरेको छ।

एल्बमभित्र मायालु नयनको इशारा, सपनीमा रुवाउँछ, धुवाँजस्तै उड्छ यो मन, वसन्तझैं फुलिदिन्छु, मेरो माया कस्तो कस्तो र कोइलीले सम्झाइदियो जस्ता माधुर्य गीतहरु रहेका छन्। यो एल्बमका वरिष्ठ गीतकार रत्नशमशेर थापा, विश्व वल्लभ, जगत मर्दन थापा, सहदेव ढुंगाना र मोहित मर्दन थापाका शब्द रहेका छन् भने मदनसिंह, मनोहर सुनाम, राजु सिंह, किरण कँडेल, शिखर सन्तोष र महेन्द्र संगीत निकेतनको संगीत रहेको छ।

नेपाली गीतसंगीत जगतका अथक साधक हुन् वरिष्ठ गायक जगतमर्दन थापा। कालजयी र माधुर्य संगीत पस्किँदै आउनुभएका थापा सदाबहार गुन्जिने स्वर साधकका रुपमा स्थापित छन्। विगत सात दशकदेखि स्वर साधनामा समर्पित थापाले आजपर्यन्त सांगीतिक नभमण्डलमा आफ्नो चमक छरिरहेका छन्, जसले विशिष्ट र अर्थपूर्ण पहिचान कायम राखेको छ।

विसं. १९९३ साल माघ २७ गते जन्मिएका थापाको साधना यात्रा विसं.२०१३ सालदेखि प्रारम्भ भएको हो। त्यस अवधिपश्चात रेडियो नेपालबाट उहाँका कथा, कविता, गीतहरु प्रसारण हुन थाल्यो। यद्यपि गीतसंगीत क्षेत्रमा नयाँ अध्याय कोर्ने कार्यको सुरुवात भने २०१८ सालमा कलकत्तास्थित हिज मास्टर्स भ्वाइसबाट ‘माया लुकाई लुक्दैन’ र ‘कोइलीले सम्झाइदियो’ जस्ता कालजयी गीत रेकर्ड भएपछि भयो।

बीसको दशक (सन् १९६५)मा मुम्बईमा रेकर्ड भएको ‘मायालु नयनको इशारा’ र ‘कुहिरोसँग डाँडाकाँडा’ जस्ता गीतले थापाको सांगीतिक उचाईमा मजबुत इँटा थप्ने कार्य ग-यो।
लामो समय सरकारी सेवामा रहे पनि संगीतको साधना र सानिध्यमा नै रहेका थापाले स्वदेशमै उच्च प्रविधियुक्त रेकर्डिङ स्टुडियोहरु खुलेपछि पुनः गायनतिर लाग्दै आफ्नो स्वरलाई निखारता ल्याउन शास्त्रीय संगीतको औपचारिक शिक्षा समेत लिन थाले।

अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका थापाले संगीतमा बी.म्यूज गरेका छन्। संगीतको विश्वविद्यालयस्तरीय ज्ञान लिने उद्देश्यले उनले ७३ वर्षको उमेरमा भारतको इलाहवाद प्राज्ञ संगीत समितिबाट बी.म्यूज गरेका हुन्। थापा संगीत साधनामा संसारमा रमाउनेहरुका निम्ति उमेर कहिल्यै बाधक बन्दैन भन्ने उदाहरण बनेका छन्। वरिष्ठ गायक थापाका अहिलेसम्म चार वटा गीति एल्बम संगीत पारखीहरुले उपहार पाइसकेका छन्।

विसं.२०५८ सालमा सार्वजनिक ‘४० वर्षअघि ४० वर्षपछि’ नामक एल्बम सांगीतिक यात्रालाई जोड्ने कडी बन्न पुग्यो । २० दशकमै स्वर अर्पण गरेका चार र नयाँ चार गरी आठ वटा गीत समेटेर उक्त एल्बम निस्किएको थियो। थापाको दोस्रो एल्बम ‘मनको शान्ति’ २०६८ मा सार्वजनिक भयो। उनको दोस्रो एल्बममा ‘लुकीलुकी’, आजभोली, तिम्रो चाहनाको, हे साइँली तिम्रो, भन लौ नढाँटी सहित नौ गीत रहेका छन्।

थापाको तेस्रो एल्बम ‘माया लुकाई लुक्दैन’ २०७३ सालमा सार्वजनिक भएको हो। उनको तेस्रो एल्बममा चर्चित गीत ‘आशाको दियो बालेर’ तिम्रो माया लसरीपसरी, अचानक आज किन लगायत नौ वटा गीत समावेश छन्।

गायक थापाका नाति आयुष्मान विष्ट पनि यतिखेर हजुरबुवाको पथमार्गमा कम्मर कसेर लागेका छन्। सानै उमेर भएतापनि हजुरबुवाबाट प्रभावित बनेर गायनतिर लागेको अर्का युगिन कालजयी गीतका गायक सूर्य थुलुङलाई भनेका छन्। गायक थुलुङले गायक थापा नेपाली गीत–संगीतका अतुलनिय गायक भएको नै दावी गरेका छन्।
प्रकाशन मिति–२०७५ साल साउन २५ गते शुक्रबार ।