काठमाडौं। काठमाडौं महानगरपालिका शहरी योजना आयोगको करिअर क्याम्पमा सहभागी आर्किटेक्ट र सिभिल इञ्जिनियरहरुले १५ वटा साना शहरी पूर्वाधार योजनाको नक्सा र लागत इष्टिमेट तयार पारेका छन्। थप ७ वटा यही १५ दिनभित्र अन्तिम चरणमा पुर्याउने तयारीमा छन्।

यसरी तयारी गरिएका योजनामध्ये न्युनतम लागत भएको योजना जेष्ठ नागरिक पार्क बनाउने काम हो। यसको लागत अनुमान ६ लाख रुपैयाँ रहेको छ। सबैभन्दा धेरै लागत भएको परियोजना कमलपोखरीको सौन्दर्यीकरण हो। जसको लागत अनुमान करिब ७ करोड रहेको छ।

गएको साउनबाट शुरु भएको यस क्याम्पबाट तत्काल अनुभूति गर्न सकिने २० वटा पूर्वाधार योजना तयार गर्ने लक्ष्य राखिएको थियो। लक्ष्यलाई शतप्रतिशत बनाउन २२ वटा योजनाको काम थालनी गरिएकोमा १५ वटा कार्यान्वयन चरणमा र ७ वटा ढाँचा निर्माणको अन्तिम चरणमा पुर्याएका हुन् ।

यसरी काम गर्ने आर्किटेक्ट र इञ्जिनियरहरुले काठमाडौं महानगरपालिका शहरी योजना आयोगको मार्ग निर्देशनमा काम गरिरहेका छन् । बिहीबार राजधानीमा सम्पन्न प्रथम रिपोर्टिङ् कार्यशालामा क्याम्पमा सहभागीले तयार पारेका योजनाको सम्भावना र चुनौतीमा समीक्षा गरिएको छ।


यी योजनाहरु वडा र महानगरको केन्द्र तहबाट कार्यान्वयमा आउनेछन् । शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतका अनुसार,तयार भएका योजना कार्यान्वयन गर्न सम्बन्धित वडा र महानगरमा पठाइनेछ। यी योजनाहरु तत्काल कार्यान्वयनमा जान सक्ने अबस्थाका हुन् ।

यदि परामर्शदाता नियुक्त गरेर ती ढाँचा तयार पारिएको भए करीब ६६ लाख खर्च हुने दावी पनि सदस्य सचिव बस्नेतको रहेको छ। जुन योजना तयार पार्दा लाग्ने ठूलो लगानी बचाएका करियर क्याम्प मार्फत आयोगले बचाएको जिकिर सदस्य सचिव बस्नेतले गरेका छन्। बस्नेतकाअनुसार विद्यार्थीहरुको यो प्रगति सन्तोषजनक हो।

यसरी तयार पारिएका योजनामा मठ मन्दिर पुननिर्माण तथा जीर्णेद्धार, पार्क निर्माण व्यवस्थापन तथा सञ्चालन, शहरको सौन्दर्यीकरण, सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण तथा उपयोगसँगै शहरलाई जीवन्त र पहुँचयुक्त बनाउने कार्यक्रम छन् ।

आफूले बनाएका योजना प्रस्तुत गर्दै आर्किटेक्ट इञ्जिनियरहरुले औपचारिक शिक्षालाई व्यवहारिक अभ्यासमा रुपान्तरण गर्न काठमाडौं महानगरपालिकाले दिएको प्लेटफर्मको प्रशंशा गरेका थिए । क्याम्पमा इञ्जिनियरिङ् र आर्किटेक्ट विषयमा स्नातक गर्ने छात्रा–छात्रा सहभागी रहेका छन् ।


प्रकाशन मिति–२०७५ साल मंसीर २० गते विहीवार ।