काठमाडौं। नेपालका सर्वोच्च नेता लौह पुरुष बीर गणेशमान सिंहको नाम मात्र सुन्दा पनि नेपालीहरुको शिर श्रद्धाले झुक्ने गर्दछ। यिनै महान नेपाली राजनीतिका सर्वोच्च नेता तथा आदर्श पुरुष बीर गणेशमान सिंहको सोमवार १०६ औं जन्मजयन्ती मनाएको छ। नेपालमा प्रजातन्त्र पुनःस्थापनाको लागि वि.सं.२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर एवं लौहपुरुष गणेशमान सिंहको १०६औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको हो।

यसक्रममा विव्दान कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरेले भिजन संसार डटकमको गौरबमय प्रस्तुति भिजन संसार युट्युब च्यानलमा २२ बर्षअघि नेपाल जागरण साप्ताहिक पत्रिका प्रकाशित आफ्नो गौरबमय कविता शानले मरे बीर गणेशमानलाई बाचन गरेर बीर गणेशमानलाई श्रद्धा सुमन चढाएका छन्।

२२ बर्षअघि नेपाल जागरण साप्ताहिकमा उक्त कविता प्रकाशित हुंदा काठमाडौं असनका बीर गणेशमानका अनुयायी एक श्रेष्ठ थरका शुभेच्छुकले आफूलाई खोजी खोजी नगद ३ हजार स–सम्मान पुरस्कार दिएको जीवनकै पहिलो साहित्यिक कमाइ भएको जानकारी पनि कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरेले वताएका छन्।

बीर गणेशमान जस्तो प्रभावशाली र सवैको प्रिय नेता नेपाललाई चाहिने तथा राजाले प्रधानमन्त्री बन्न अफर गर्दापनि साथी कृष्णप्रसाद भट्टराईलाई रिफर गर्ने बीर गणेशमान जस्तो त्यागी नेताको मरण साँच्चै शानमय भएको जिकिर पनि कवि तथा साहित्यकार घिमिरेको दावी रहेको छ।

नेपाली राजनीतिमा निष्ठा र त्यागका मापकको रुपमा रहन सफल बीर गणेशमानको आदर्शलाई वर्तमान राजनीतिक नेतृत्वले व्यवहारमा लागू गर्न सकेको छैन। अहिलेपनि नेपाली राजनीतिमा सिंहको त्याग र निष्ठाको चौतर्फी प्रशंसा हुन्छ। तर, व्यवहारमा लागू गर्ने तत्परता कहीँ–कतैबाट हुने गरेको छैन। लौहपुरुष गणेशमान सिंह नेपाली राजनीतिमा त्याग, निष्ठा र साहसको उच्च मापक मानिन्छ।

व्यवहार र सिद्धान्तमा खोलाका दुई किनाराजस्तै रहेका कांग्रेस र कम्युनिस्टलाई एकजुट बनाएर विसं.२०४६ सालको जनआन्दोलन सफलतामा पुर्‍याएवापत् सिंहलाई सर्वमान्य नेताका रुपमा लिइएको हो। बीर गणेशमानले राष्ट्रिय एकताका लागि खेलेको भूमिकाको अहिलेपनि प्रशंसा हुने गरेको छ।

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको निधनपछि विसं.२०४२ को जनमतसंग्रह र विसं.२०४६ को जनआन्दोलनको कमान्ड गरेका सर्वमान्य नेता बीर गणेशमान सिंहको आदर्शलाई वर्तमान राजनीतिक नेतृत्वले आत्मसात् गर्न अत्यन्त आवश्यक छ।

प्रकाशन मिति–२०७७ साल कात्तिक २५ गते मंगलवार ।