काठमाडौ। आज वैशाख पूर्णिमा अर्थात् २५६२ औं बुद्ध जयन्ती। भगवान बुद्धको नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। आजकै दिन भगवान बुद्धले ज्ञान प्राप्त गरेका थिए। महापरिनिर्वाण पनि भगवान बुद्धले आजकै दिन प्राप्त गरेका थिए।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा विश्व प्रसिद्धि पाएका हुन्।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ। काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा आज भक्तजनहरुको घुइँचो र मेला लागेको छ।

वुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन्। संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपाल भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ।

गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्दछन्। गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ।


प्रकाशन मिति–२०७५ साल बैशाख १७ गते सोमवार ।