काठमाडौं। कोरोनाको कहरमा फ्रन्टलाइनमा रिपोर्टिङका लागि खटिने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ। गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो।

आज शुक्रवार गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले सामाजिक दुरी कायम गर्दै काठमाडौंको नक्सालस्थित नारायणचौरबाट छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत १०० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरेका हुन। स्वास्थ्य सामग्री वितरण पछि अध्यक्ष अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार प्रति आभार प्रकट गरेका छन्।

सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार र विशेष गरी विहारका मूल गुरु हाल नेपालमा रहेका ताइवानी नागरिक हेगुवाङ शी र विहारअन्तर्गत कोरोना लक्षित आपत्कालीन राहत कार्यक्रमका सञ्चालक शान्त शर्मा प्रति विशेष आभार व्यक्त गरेका छन्। अधिकारीकै अध्यक्षतामा केही दिनअघि राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले पनि सोही स्थानबाट ५० जना जति पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो।


प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।