काठमाडौं। नेपाली चलचित्र उद्योगमा विगत २२ बर्षदेनि निरन्तर चलचित्र अभिनयमा सक्रिय अभिनेत्री शुभेच्छा थापाले यतिखेर छलाङ मारेकी छन्। चलचित्रमा विविध अभिनय गर्नुको अलावा चलचित्र निर्माणमा समेत हात हालेर अत्यन्त चर्चा पाएकी अभिनेत्री थापा निर्देशक पनि बनेर छलाङ मारेकी हुन्।

अभिनेत्री थापाले निर्देशन गरेको पहिलो चलचित्रको नाम नै लक्ष्मीरानी रहेको छ। यस चलचित्र लक्ष्मीरानीको निर्मात्री समेत रहेकी अभिनेत्री थापाले डब्बल रोल समेत गरेर गजबकै काम गरेकी छन्। त्यसमाथि, यस चलचित्रको लेखन कार्य समेतको जिम्मेवारी अभिनेत्री थापाले नै वहन गरेकी छन्। यस हिसावले पनि अभिनेत्री थापा बहुप्रतिभाकी धनी कलाकारको रुपमा चिनिन पुगेकी छन्।

अभिनेत्री थापाव्दारा निर्मित पहिलो चलचित्रको नाम को हुँ म हो। यसपछि मिस नेपाल निर्माण गरेकी थिइन्। मिस नेपाल निर्माण हुंदा मिस नेपालको आयोजकको कारण अनावश्यक झमेलामा पनि परेकी थिइन्। पछि त्यसलाई झेलेरै भएपनि चलचित्र मिस नेपाललाई हलमा प्रदर्शन गरेर उत्कृष्टता प्रदर्शन गर्ने कार्य अभिनेत्री थापावाट भएको छ।

अभिनेत्री थापाले निर्माण गरेको तेश्रो चलचित्र मखमली हो। जसमा अभिनेत्री थापा बेश्याको भूमिकामा रहेकी छन्। शहरको परिवेश भन्दा पर गाउँको परिवेशमा हुर्किएको कथामा चलचित्र मखमली निर्माण भएको छ। उनै मखमली शहरमा कसरी विक्री हुने गर्दछ भन्ने विषयमा चलचित्र मखमली बेग्लै सोच र ढंगवाट निर्माण भएको अभिनेत्री थापाले भनेकी छन्।

अभिनेत्री शुभेच्छा थापा अभिनित तथा निर्मित पछिल्लो चलचित्र विन्दास ३ पनि हो। विन्दास ३ मा प्रमुख भूमिकामा देखिएकी नायिका थापाको बबाल बेडसिन समेत रहेको छ। एकपछि अर्को चलचित्रको निर्माण तथा अभिनयवाट व्यापक चर्चामा आएकी अभिनेत्री थापा मेहनतले बनेकी अब्बल दर्जाकी नायिका हुन। जसले जीवनमा अत्यन्त कठिनभन्दा कठिन दुःख झेलेकी छन्। सोही दुःखवाट बनेकी कलाकार हुन–शुभेच्छा थापा।

विसं.२०३४ साल फागुन २८ गते काठमाडौं जिल्लाको दक्षिणकालीमा पिता पीताम्बर तिमल्सिना र माता मोदमाई तिमिल्सिनाको एक छोरा र चार छोरीमध्येकी कान्छी सन्तानका रुपमा जन्मेकी शुभेच्छा थापाको वास्तविक नाम शुभद्रा तिमिल्सिना (थापा) हो। नागरिकता तथा पासपोर्टमा शुभद्रा तिमिल्सिना (थापा) नाम भएतापनि नेपाली चलचित्र उद्योगमा शुभेच्छा थापा नामवाट उनी बढी चिनिएकी छन्। सवैको शुभेच्छा चाहने भएको कारण फिल्मलाइनमा आएपछि शुभद्रा तिमिल्सिनालाई शुभेच्छा थापा नामवाट आफूलाई उनले चिनाएकी हुन।

एघार बर्षको उमेरवाट रंगमञ्चको अभिनयवाट कलाकारिता शुभारम्भ गरेकी शुभेच्छा थापाको पहिलो नाटकको नाम नै सूर्योद्य हो। यस नाटकको विसं.२०४५ सालमा राष्ट्रिय नाचघरमा मञ्चन भएको थियो। त्यसपछि नवयुग, सिर्जना लगायत दर्जनौ दर्जन नाटकमा अभिनय गरेकी उनले देवी, सहयात्री, हिजोआजभोलि, अतित, भाङ्ग्राको टोपीमा, गोयलको फूल, पथभ्रष्ट, खुशी पलभरको, संस्कार, यहाँको चलन जस्ता अनेक टेलिफिल्महरुमा अब्बल दर्जाको अभिनय गरेकी छन्। त्यसको अलावा एकदर्जनजति डकुमेन्ट्री फिल्ममा अभिनय गरेपछि विसं.२०६३ सालवाट ठूला पर्दाका चलचित्रमा अभिनय गर्न थालेकी हुन।

विवाहपछि नै फिल्म लाइनमा जमेकी अभिनेत्री थापाको चलचित्र निर्माता तथा व्यापार व्यवसायी अनिल कुमार थापासंग प्रेम विवाह भएको हो। यी थापा दम्पत्तिको प्रेमको चिनो छोरी अनुशा थापा रहेकी छन्। फिल्मी अभिनयमा श्रीमानको साथ र सहयोगले नै अगाडि बढ्ेको जिकिर गर्ने अभिनेत्री थापाको सफलताको रहस्य नै श्रीमान अनिल कुमार थापा भएको उनले दावी गरेकी छन्।

अभिनेत्री थापा अभिनित ठूला पर्दाका चलचित्रहरुमा कब्जा, ध्रुवतारा, क्रोध, अग्निज्वाला, प्रहार, रक्षक, मृत्युदण्ड, बोक्सी, बदमास, निर्जला, को हुँ म, आँधी–तुफान, आजका युवा, काँचुली, दिलदार, चिनो, कन्यादान, पिरिम प-या छ, नौलो संसार,, मखमली, मिस नेपाल, टाइगर द रियल हिरो, मखमली २, विन्दास ३ हुन। नेपाली वाहेक भोजपुरी दुई फिल्म दिलवाले, अमर प्रेमको अलावा मैथिली चलचित्र हंश चलन प्रदेशमा समेत नायिका बनेर अभिनय गरिसकेकी छन्।

सवैखाले अभिनय गर्न सक्षम अत्यन्त प्रतिभाशाली अभिनेत्री थापा सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय रहेकी छन्। विभिन्न सामाजिक कार्यहरुमा विभिन्न संघ–संस्था तथा व्यक्तिगत तर्फवाट पनि संलग्न हुंदैआएकी छन्। असहाय,अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आफूसक्दो सहयोग तथा सेवा गर्ने कार्य पनि उनीवाट भएको छ।

विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको अलावा विभिन्न इभेन्ट म्यानेजमेन्ट फेशन–शोहरुमा पनि शोज टपर बनेर बेजोड कुशलता प्रदर्शन गर्दैआएकी उनले ती कार्यक्रमहरुमा अतिथि तथा निर्णायक बनेर कार्य गरिसकेकी छन्। कलाकारिता नै आफ्नो जीवन भएको उनको प्रष्ट धारणा तथा सिधा विचार रहेको छ।
(नामी साप्ताहिकवाट साभार)


प्रकाशन मिति–२०७६ साल चैत २२ गते शनिवार ।