काठमाडौं।  नेपाली मूलका व्यवसायी दम्पती शेष घले तथा जमुना गुरुङ अस्ट्रेलियाको ८५औं र ८६औं सर्वाधिक धनी बनेका छन् । अस्ट्रेलियाको प्रतिष्ठित पक्रिका द अस्ट्रेलियनले शनिबार सार्वजनिक गरेको अस्ट्रेलियाका २ सय ५० धनी व्यत्तिहरूको सूचीमा घले दम्पती गत वर्षको भन्दा २ सय २४ मिलियन अस्ट्रेलियन डलर जोडदै यो सूचीमा परेका हुन्।

विगत १० वर्षदेखि अस्ट्रेलियाका धनीहरूको सूचीमा नामांकित हुँदै आएका उनीहरू द अस्ट्रेलियनको सूचीअनुसार पहिलोपटक बिलिनियरको सूचीमा पर्न सफल बनेका छन् । सूचीअनुसार उनीहरूको कुल सम्पत्ति १ दशमलव १ बिलियन डलर रहेको छ। हरेक वर्ष अस्ट्रेलियाका धनीहरूको सूची सार्वजनिक गर्दै आएको बीआरडब्लु म्यागजिनका अनुसार उनीहरूको गत वर्षको सम्पत्ति ८ सय ७६ मिलियन डलर रहेको थियो।

अस्ट्रेलियाको मेलबर्नमा रहेर व्यवसायमा संलग्न उनीहरूले आफ्नो व्यवसायलाई घरजग्गा, होटल, शिक्षालगायत विभिन्न क्षेत्रमा बढाएका छन्। करिब दुई दशक पहिले नेपालबाट विद्यार्थीका रूपमा अष्ट्रेलिया पुगेका उनीहरुले सुरुका समयमा सामान्य विद्यार्थीहरूसरह नै मेहनत गरेका थिए । आप्रवासी नेपालीहरूको संगठन एनआरएनका दुई कार्यकालसम्म नेतृत्व सम्हालिसकेका शेष घलेले नेपालमा भूकम्प गएको समयमा भूकम्प प्रभावित क्षेत्रमै गएर पीडितहरूलाई सहयोग पुर्‍याएका थिए । गोरखाको लाप्राकमा भूकम्पपीडितहरूका लागि बनेको घरहरू निर्माणमा समेत उनको महत्त्वपूर्ण योगदान रहेको थियो।

घले दम्पतीले अहिले मेलबर्नमा करिब ४ सय ५० मिलियन डलरको लागतमा दुईवटा भवन बनाउने तयारीसमेत सुरु गरेका छन्। यसैगरी उनको मेलबर्नमा रहेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा समेत सयौंको संख्यामा अन्तर्राष्ट्रिय तथा स्थानीय विद्यार्थीहरू विभिन्न विषयहरू अध्ययनरत छन्। उनको कलेज एमआईटीमा ब्याचलरदेखि सर्टिफिकेट तहसम्मका विभिन्न कोर्सहरू अध्यापन गराइँदै आएको छ। यसबाहेक करिब ५ अर्बको लागतमा उनले नेपालमा समेत होटल बनाउन सुरु गरिसकेका छन् ।
प्रकाशन मिति–२०७५ साल चैत्र २५ गते सोमवार ।