काठमाडौं । चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले आफ्नो २०औँ स्थापना दिवस मनाएको छ। प्रत्येक बर्षको जेठ ७ गतेलाई स्थापना दिवसको रुपमा संघले मनाउदै आएको हो। यो बर्ष पनि जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका रुपमा मनाइयो।

चलचित्र पत्रकारिता दिवसका अवसरमा दुई चर्चित पत्रकारलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ। चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान पाउने दुई चर्चित पत्रकारमा नामी साप्ताहिकका सम्पादक तथा भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत र इमेज एफएम तथा हिमालय टेलिभिजनका कार्यक्रम प्रस्तोता नरेश भट्टराई रहेका छन्।

दुवै पत्रकारलाई नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सम्मान प्रदान गरेका हुन्। दुई पत्रकारलाई दुई दशक लामो पत्रकारिताको योगदानको कदर स्वरुप राष्ट्रिय सम्मान प्रदान गरिएको संघले जनाएको छ।

 

त्यस्तैगरी रातोपाटी डटकममा कार्यरत पत्रकार कुवेर गिरी र एबिसी टेलिभिजन र टाइम्स एफएममा कार्यरत पत्रकार शारदा थापालाई यो बर्षको चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। दुवै पत्रकारलाई जनही नगद २१ हजार रुपैयाँ, ताम्रपत्रकासाथ ट्रफी प्रदान गरिएको थियो। मेरो फिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार स्वरुप १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी पुरस्कार प्रदान गरेका थिए।


चलचित्र पत्रकार संघ नेपालको आफ्नो २०औँ स्थापना दिवस तथा सम्मान समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले चलचित्र पत्रकारिताको आवश्यकता र महत्वको वारेमा प्रकाश पारेका थिए।

मन्त्री बाँस्कोटाले चलचित्र पत्रकारिता मूलधारको पत्रकारिताको अभिन्न अंग बनिसकेको प्रकाश पार्दै चलचित्र क्षेत्रमा बक्स अफिसको महत्व र फिल्म स्टुडियोको आवश्यकतालाई मध्यनजर गरेर नेपाल सरकारले यसको लागि विशेष कार्य योजना ल्याउन लागेको खुलासा गरेका छन्। संघका अध्यक्ष सन्दीप सापकोटाले चलचित्र पत्रकारहरुको क्षमता विकासका विविध कार्यक्रमहरु संघले गर्दैआइरहेको विषयमा प्रकाश पारेका थिए।


प्रकाशन मिति–२०७६ साल जेठ ८ गते बुधवार ।