काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ इमेज एफएम र हिमालय टेलिभिजनका पत्रकार नरेश भट्टराई र भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतलाई प्रदान गर्ने भएको छ।

चलचित्र पत्रकारितामा उल्लेखनीय योगदानको कदर गर्दै भट्टराई र स्मृतलाई सम्मान गर्न लागिएको चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटाद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख रहेको छ।
यो बर्षको चलचित्र पत्रकारिता दिवस अर्थात २०औँ स्थापना दिवसको अवसर पारेर यही ७ जेठमा काठमाडौंमा एक समारोहबीच यो सम्मान र पुरस्कार प्रदान गरिने भएको छ।

त्यसैगरेर, चलचित्र पत्रकारितामा लामो समयदेखि क्रियाशिल दुईजना पत्रकारलाई यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। संघले यो पुरस्कार रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई प्रदान गर्ने निर्णय गरेको छ।

चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ । त्यस्तै बैठकले मेरो फिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ।
प्रकाशन मिति–२०७६ साल जेठ १ गते बुधवार ।