लण्डन। बेलायतमा केट नाम गरेकी एक महिलाले दुई दशकभन्दा बढी समय आफ्ना तीन सन्तानका पिताका विषयमा परिवारलाई भ्रममा राखेको खुलासा भएको छ। अझैसम्म केटका तीन सन्तानको पहिचान भएको छैन्।

बेलायतका व्यापारी रिचर्ड मेसनसंग विवाह गरेकी केटले तीन सन्तालाई जन्म दिएकी थिइन्। रिचर्डले तीनवटै सन्तान आफ्नै ठानेका थिए। २१ बर्षसम्म दुवैसंगै पनि रहे। जव रिचर्डले दोस्रो विवाह गरे।

दोस्रो पत्नीबाट सन्तान नभएपछि रिचर्ड अस्पतालमा पुगेर शारीरिक परीक्षण गराए। चिकित्सकले उनलाई ‘पिता बन्ने क्षमता नरहेको’ बताए। सानैदेखि उनको शरीरमा पिता बन्ने क्षमता विकसित नभएको चिकित्सकको भनाइ थियो।

त्यसपछि उनले पूर्वपत्नीबाट जन्मिएका तीन सन्तानको असली पिता आफू नरहेको थाहा पाएका थिए। उनले पूर्वपत्नीबाट जन्मिएका दुई सन्तानको डिएनए परीक्षणसमेत गराए। परीक्षणका क्रममा उनले आफू ती दुवै सन्तानको पिता नरहेको थाहा पाए।

तर तेस्रो सन्ताले भने डिएनए नमूना दिन अस्वीकार गरेको बताइन्छ। ‘मेरो पिता तपाई नै हो’ भन्ने म्यासेज पठाएर तेस्रो सन्तानले भने डिएनए परीक्षण गराउन नचाहेको रिचर्डको भनाइ छ। रिचर्डले पूर्वपत्नी केटसँग वास्तविकता सोधे।

अन्ततः केटले रिचर्डसामू आफूले धोका दिएको स्वीकार गरेपनि ती तीन सन्तानका पिताबारे जानकारी नदिएको बताइन्छ। आफूले धोका पाएको भन्दै रिचर्डले अदालतमा मुद्दा दायर गरे।

अदालतले रिचर्डद्वारा सम्बन्धविच्छेदका क्रममा केटलाई दिएको ४ मिलियन पाउन्ड रकममध्येबाट २.५ मिलियन पाउण्ड रकम फिर्ता गराएको छ। अदालतले केटलाई तीन सन्तानका पिताको पहिचान गोप्य राख्न अनुमति दिएको छ।

रिचर्डले भने ती तीन सन्तानको वास्तविक पिताबारे जानकारी दिनेका लागि पुरस्कार घोषणा गरेका छन् ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल पुस २९ गते आइतवार ।