कोलम्बो। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेको छ।

SriLankaअन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि व्याप्त छ। हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलंकाली नौसेनाका पूर्वसैनिक हुन्।

सन् १९८९ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी श्रीलंकाको औपचारिक भ्रमणमा रहँदा उनलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा यिनले जागिर गुमाउनुका साथै सजायसमेत भोग्नुपरेको थियो।

तथाकथित ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरीअगावै उनको मृत्यु हुने भनी बकबास हल्ला फैलाइ ज्योतिष विद्याभिरु समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोले पक्रिइ नियन्त्रणमा लिएको भन्ने श्रीलंकाली प्रहरीको भनाइ छ। राष्ट्रपति सिरिसेनाको मृत्यु हुन्छ भन्ने भविष्यवाणीसहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबुक पेजमा थरिथरिका थुप्रै भिडियो क्लिप अपलोड गरेकाले आमजनमानसमा भविष्यवाणी सत्य पो हुने हो कि भन्ने भ्रम फैलन गएको थियो।

सरकारमा रहेका उच्च अधिकारीहरु चाहिँ विजयेमुनिप्रति सशंकित रहेका थिए । यहीक्रममा विजयेमुनिले भित्रभित्रै कतै सैनिक विद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षड्यन्त्रको तानाबाना त बुनिरहेको छैन भन्ने आशंकामा सन्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलंकाका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउनसक्ने सम्भाव्य परिणामउपर निगरानी राख्ने आदेश दिएका थिए ।
प्रकाशन मिति–२०७३ साल माघ १९ गते बुधवार ।