Ambar Gurung.jpg 1काठमाडौ। नेपाल सरकारले संगीतकार अम्बर गुरुङलाई स्वास्थ्य उपचारका लागि मासिक ३० हजार रुपैयाँसहित सम्मान गरेको छ। बूढानिलकन्ठस्थित संगीतकार गुरुङको निवासमा पुगी सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उनलाई सम्मान गर्दै मासिक उपचार खर्चबापत ३० हजार रुपैयाँ हस्तान्तरण गरे।

संगीतको माध्यमबाट देशका लागि गरिएको अतुलनीय योगदानको कदर गर्दै राज्यले उनलाई उपचार खर्चबापत मासिक ३० हजार रुपैयाँ प्रदान गरेको मन्त्री पोखरेलले बताए। संगीतकार गुरुङको स्वास्थ्यलाभको कामना गर्दै उनले उनको सम्पूर्ण उपचार खर्च व्यहोर्न परिवारले राखेको प्रस्तावलाई आफूले प्रधानमन्त्रीसमक्ष राखी सहजीकरणको काम गर्ने बताए।

Ambar Gurung

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संगीतकार गुरुङलाई उपचारका लागि आजीवन मासिक ३० हजार रुपैयाँ दिने र उक्त रकम नेपाल संगीत नाट्य प्रतिष्ठानमार्फत लिन सकिने जानकारी दिए। संगीतकार गुरुङ ७८ वर्षको भए। उनी नसासम्बन्धी समस्याबाट केही वर्षदेखि पीडित छन्। उनको नियमित उपचार ग्रान्डी अस्पतालमा भइरहेको छ।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका संगीतकार गुरुङको माहिला छोरा राजुु गुरुङले पछिल्लो समयमा नसासम्बन्धीका साथै मधुमेह र उच्च रक्तचापको समस्या पनि बढ्दै गएको हुनाले अस्पतालमा लाग्ने थप खर्चका लागि पनि सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । रासस

प्रकाशन मिति–२०७२ साल पुष २० गते सोमवार ।