काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सरकारले गरिएको नियुक्तिमा एकजना नृत्यकर्मी नसमेटिएकोमा नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ।

नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष बसन्त श्रेष्ठले प्रेश विज्ञप्ति जारी गर्दै सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको नियुक्तिले समग्र नृत्य कर्मीहरुको मनोबल गिराउने कदम गरेको भन्दै घोर–विरोध गरेको हो।

विज्ञप्तिमा सरकारले गठन गरेको प्रतिष्ठानको नियुक्तिमा नेपाली नृत्यलाई अपमान गरेको कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नु लज्जास्पद विषय हो भनिएको छ। जुनक्षेत्रको विकास र उत्थानका लागि स्थापित संस्था हो, सो संस्थामा विज्ञहरुको नियुक्ति हुनको साटो आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने चम्चा प्रवृतिको नियुक्तिले नृत्य क्षेत्रको विकास हुन नसक्ने भनिएको छ।

नृत्य क्षेत्रको घोर अपमान भएको ठहर गरी तत्काल आफ्नो कदम सच्याउँदै कुलपति, उप–कुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुननियुक्तिको जोडदार माग गर्दछ भन्दै यदि सरकारले पुननियुक्ति गर्न सक्दैन भने समग्र नृत्यकर्मीहरुको आत्मसम्मान र प्रतिष्ठान बढाउने खालको स्वायत्तः नेपाल नृत्य प्रज्ञा प्रतिष्ठानको गठन गरोस भन्ने माग पनि गरिएको छ।


प्रकाशन मिति–२०७५ साल पुस २३ गते सोमवार ।