काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार अपरान्ह संयुक्त अरब इमिरेट्स (युएई)को औपचारिक भ्रमणमा गएकी छन्।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रीहरुले बिदाइ गरेका थिए। सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो।

राष्ट्रपति भण्डारी युएईका राजकुमार तथा त्यहाँका सशस्त्र बलका नायव सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा त्यता प्रस्थान गरेकी हुन्।

युएईसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा भएको यस भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले युएईका उच्चपदस्थ अधिकारीहरुसँग औपचारिक भेटघाट गर्ने भएको छ। राष्ट्रपति भण्डारी कात्तिक ३० गते स्वदेश फर्कने जनाइएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २७ गते सोमवार ।