० मास्टर अच्युतानन्द–श्रीलक्ष्मी मेमोरियल ट्रष्ट ।
० विपन्न विद्यार्थीहरुलाई छात्रबृति ।
–श्याम स्मृत
काठमाडौं। काठमाडौंको मुटु असन नजिक न्ह्यौंखा टोलमा छोरीहरुलाई मात्र पढाउने स्कुलका रुपमा कन्या मन्दिर माध्यमिक विद्यालय रहेको छ। यस विद्यालयमा अध्ययन गरेर धेरै छोरीहरु उच्च स्थानमा पुगिसकेका पनि छन्। यिनै स्कुलका संस्थापक शिक्षक मास्टर अच्युतानन्द राजोपाध्याय हुन।

अच्युतानन्द राजोपाध्यायले कन्या मन्दिर स्कुलको स्थापनाताका आफूले चढ्दै गरेको साइकल बेचेर स्कुलका लागि सुकुल तथा कालोपाटी किनेका थिए। छोरी बच्चाहरुलाई पढाउन हुन्न भन्ने त्यो बेलाको समाजलाई परिवर्तन गर्न र गराउन घर–घरमा पुगेर छोरी बच्चा पढाउन उत्प्रेरणा दिने शिक्षक मास्टर अच्युतानन्द राजोपाध्याय हुन ।

त्यो बेला त्यसरी छोरी बच्चा कन्या मन्दिर स्कुलमा पढाउने अभियान संचालन गर्दा धेरैले छोरी बच्चालाई पढाएर विगार्ने भयो भनेर मास्टर अच्युतानन्द राजोपाध्यायलाई आरोप आएको थियो। जसको कारण कमै छोरी बच्चाहरु कन्या मन्दिर स्कुलमा आउने गरेको कारण एक बर्ष छोरा बच्चाहरुलाई पनि कन्या मन्दिर स्कुलमा पढाउने कार्य भएको थियो।

छोरी बच्चा मात्र पढाउने कन्या मन्दिर स्कुलमा छोरा बच्चाहरु पढाउन थालेपछि पढ्न आउनेमा त्योबेला हालका ख्यातिप्राप्त हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठ पनि थिए। पछि छोरा बच्चाहरु पढाउन थालेपछि धमाधम छोरी बच्चाहरुलाई कन्या मन्दिर स्कुलवाट निकालेर लाने क्रम बढ्ेपछि छोरी बच्चाहरुलाई मात्र पढाउने कार्य भएको त्यो यथार्थ इतिहास उनै सवैका प्रिय मास्टर अच्युतानन्द राजोपाध्यायका सुपुत्र बासब राजोपाध्यायले बताएका छन्।

यिनै कन्या मन्दिर स्कुलका संस्थापक मास्टर अच्युतानन्द राजोपाध्यायको नामवाट विसं.२०७२ सालको महाभूकम्प पश्चात कन्या मन्दिर स्कुलामा गरिब विपन्न बर्गका विद्यार्थीहरुलाई बर्षभरिको छात्रबृति प्रदान गर्ने कार्यको पहल बरिष्ठ स्वास्थ्यकर्मी सजनी राजोपाध्यायवाट भएको हो।

विसं.२०७२ सालवाट ९ जना गरीब, विपन्न विद्यार्थीवाट शुरु गरिएको छात्रबृति कार्यक्रमको हाल विस्तार भएर बर्षेनी ५० जनालाई संपूर्ण छात्रबृति प्रदान गर्ने कार्य भैरहेको जानकारी छात्रबृति कार्यक्रमका संस्थापक सजनी राजोपाध्यायले भनेकी छन्। आफू पढ्ेको स्कुलमा ठूलो बुवाकै नामवाट गरीब तथा विपन्न विद्यार्थीहरुलाई बार्षिक छात्रबृति प्रदान गर्न पाउंदा अत्यन्त आत्मविभोर हुने गरेको सजनी राजोपाध्यायको भनाई छ।

व्यक्तिगत रुपमा शुभारम्भ गरिएको यस छात्रबृति कार्यक्रमलाई सजनी राजोपाध्यायको यो सुकार्यका लागि जर्मन, अमेरिका लगायतका देशमा रहेका इष्टमित्रहरु तथा नेवाःपासा पुच अमेरिकावाट पनि सहयोग प्राप्त भएपछि ठूलो बुवा र ठूलीआमा दुवैको नाम मिलाएर मास्टर अच्युतानन्द–श्रीलक्ष्मी मेमोरियल ट्रष्ट स्थापना गरेको जानकारी पनि सजनी राजोपाध्यायले दिएकी छन्।

अच्युतानन्द–श्रीलक्ष्मी मेमोरियल ट्रष्ट मार्फत कन्या मन्दिर स्कुलमा छात्रबृति दिने कार्य हाल भैरहेको र छात्रबृति पाउने विद्यार्थीहरुले बर्षभरि पढ्नका लागि आवश्यक कापी, कलम, ड्रेस देखि स्कुल शुल्क लगायत आवश्यक सवै व्यहोरिने गरेको छ। अभिभावकले घरवाट खाना मात्र खुवाएर पठाउने र वाँकी सवै छात्रबृतिले सहयोग गर्ने गरेको छ।

 

शहरभित्र रहेको कन्या मन्दिर स्कुलका पचास विद्यार्थीहरुले पाइरहेको लुकेको सहयोग गर्ने र गराउने कार्यमा अगुवाई गर्ने सजनी राजोपाध्यायको सोच सानैदेखि नर्स बनेर समाज सेवा गर्ने थियो। विराटनगरको तीनटोलियामा जन्मेकी सजनी राजोपाध्यायले विराटनगरमा कक्षा ६ सम्म त्यही पढ्ेको र कक्षा ७ देखि काठमाडौंको न्ह्यौंखा टोलस्थित कन्या मन्दिर स्कुलमा पढ्ेकी हुन।

पछि विराटनगर फर्केपछि विराटनगरकै कन्या क्याम्पसमा आईए पढे्पनि पछि विराटनगरकै नेशनल इन्ष्टिच्यूटवाट अहेबको अध्ययन पूरा गरेर स्वास्थ्य क्षेत्रमा प्रवेश गरेकी सजनी राजोपाध्यायले विराटनगरको जोगबनी रानी नाकाको हेल्थपोष्टवाट कार्य शुरु गरेकी थिइन्। डाक्टर नभएको बेलाको डाक्टरको रुपमा मानिएको अहेबलाई गाउँघरको डाक्टर पनि भन्ने गरेको छ।

उनै गाउँघरको डाक्टर सजनी राजोपाध्यायले कोशी अञ्चल अस्पतालमा पनि केही समय कार्य गरेकी थिइन्। डाक्टर नहुंदा प्रेस्क्रिप्सन लेख्ने समेत अधिकार पाएकी अहेब सजनी राजोपाध्याय काठमाडौं आएपछि महाराजगञ्जको मेरिडियन पोलिक्लिनिक, सानोठिमीको ओम बृद्धाश्रम हुदै हाल न्ह्यौंखाको जनचिकित्सालयमा कार्यरत रहेकी छन्।

स्वास्थ्य सेवा मार्फत धेरैभन्दा धेरै जनसेवा गर्दैआएकी सजनी राजोपाध्यायकी एकमात्र छोरा श्रीष राजोपाध्यायको सोच पनि आमाको जस्तै गरीबको लागि सेवा गर्ने नै हो। सानोमा छोरोले गरीबको लागि घर वनाइ दिन्छु भनेर स्कुल लाइफमा निवन्ध लेखेको अझैपनि आमा सजनी राजोपाध्यायले सम्झेकी छन्।

आइटीमा व्याचलर गर्दैगरेका श्रीष राजोपाध्यायको सोच पनि आमा जस्तै समाज सेवी नै बन्ने हो। आमा सजनी राजोपाध्याय तथा मामा बासब राजोपाध्यायले गर्दै आएको मानव सेवामा सहयोगी बन्दै अगाडि बढ्ने भिजन र मिसन नै हो भनेर श्रीष राजोपाध्यायले भनेका छन्। यसकारण पनि, प्रार्थना गर्ने ओठहरुभन्दा सहयोग गर्ने ती हातहरु नै पवित्र हुन्छ भनेर सजनी राजोपाध्यायले भनेकी छन्। यसलाई नै मूलमन्त्रको रुपमा समाजसेवामा क्रियाशील भएर लाग्दैगरेको पनि बताएकी छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असार २६ गते शनिवार ।