काठमाडौं । विद्यालय पढ्ने साना विद्यार्थीहरूको अध्ययनलाई सहयोग पुग्ने ‘स्मार्टर मोबाइल एप’ नेपालमा सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको उक्त मोबाइल एप ख्यातिप्राप्त हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभारम्भ गरेका हुन्।

शुभारम्भ कार्यक्रममा बोल्दै मह जोडीले आफ्ना पालामा यस्तो कुनै प्रविधि नभएकोले पढाई ज्यादै कठिन भएको र अहिले प्रविधिका कारणले विद्यार्थीहरूको पढाई ज्यादै सहज बन्दै गएको धारणा व्यक्त गरेका थिए।

म्याक्स कनेक्टका प्रमुख कार्यकारी अधिकृत जीत रागबले कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी पाठ्यक्रम अनुसार नै तयार गरिएको उक्त एपबाट अनलाइन र अफलाइन दुवै माध्यमले अध्ययन गर्न सकिने बताए। प्रति विद्यार्थी वार्षिक ५ हजार शुल्क तिरेर एपको सेवा लिन सकिने र म्याक्स कनेक्टका देशभरिका डिलरहरु मार्फत हरेक स्कुलसम्म पुर्याउने योजना रहेको पनि रागबले बताएका छन्।

म्याक्स कनेक्टका निर्देशक राजेश तुलाधरले यो एप युरोप, अष्ट्रेलिया, अमेरिकामा जस्तै नेपालमा पनि विद्यार्थीहरूको पढाईमा सहयोगी हुने विश्वास व्यक्त गरेका थिए। माक्स कनेक्ट टिमले यसअघि म्याक्स कनेक्ट इआरपी मोबाइल एप मार्फत नेपाल र भारतका ४ सय स्कुल र २ लाख ५७ हजार विद्यार्थीलाई आवद्ध गराई सेवा दिइसकेको छ।

कम्पनीका प्रवन्ध निर्देशक रीना बज्राचार्यले माक्स कनेक्ट टिमले आजको डिजिटल युगलाई सुहाउँदो एप बनाई नेपालको शिक्षा क्षेत्रलाई सहज तुल्याइरहेको जिकिर गरेकी छन्। जुन वर्तमान समयको आवश्यकता पनि भएको दावी बज्राचार्यको रहेको छ।
प्रकाशन मिति–२०७६ साल असार ३० गते सोमवार ।