काठमाडौं। पछिल्लो समय नेपालमा दिनानुदिन सडक दूर्घटनामा बृद्धि भएको छ। जसवाट प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित बनेका छन्। दिनानुदिन बृद्धि भैरहेको सडक दूर्घटनाका समाचारहरुले आफूलाई रातमा निन्द्रा पनि नलाग्न थालेको प्रधानमन्त्री ओलीले भनेका छन्।

सडक दूर्घटना न्यूनिकरणमा मात्र नभइकन निर्मूल नै बनाउने उपायका संवन्धमा छलफल गर्न सरोकारवाला निकायलाई प्रधानमन्त्री निवास वालुवाटारमा वोलाएर प्रधानमन्त्री ओलीले कडा निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका हुन्। गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ तथा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई प्रधानमन्त्रीले संयुक्तरुपमा निर्देशन दिएका हुन्।

भावुकरुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पछिल्लोपटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी सडक नियम पालना गराउन निर्देशन दिए। ‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधेबालक बेवारिसे भएको खबर पढें । बिरामी अवस्थामा रहेर हो कि म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ’–प्रधानमन्त्री ओलीले भने–‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ। त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ। यसलाई तत्काल रोक्ने कार्य–योजना बनाउनुपर्‍यो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार, प्रधानमन्त्री ओलीले निजी सवारी–साधनको तुलनामा सार्वजनिक यातायात दूर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकलाई तालिम, लाइसेन्सको पुनः परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिएका थिए।

‘सिटभन्दा बढी यात्री राख्न नदिने, छतमा यात्री राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सन्चालनका लागि योग्य नभएका सडकमा सन्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नोस्’–प्रधानमन्त्री ओलीले भने–‘सडक पूर्वाधारको स्वीकृति गर्दा दोहोरो सवारी नचल्ने संरचना स्वीकृत नगर्नोस्। तीव्रगतिका सवारीलाई रोक्ने गरी संरचनाको अनिवार्य व्यवस्था गर्नोस्। बस चालकको कक्षमा ध्यान अन्तै मोड्नेखालका मानिस तथा सामग्री छन् भने हटाउने स्पस्ट नियम बनाउनोस्।’

हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणको छानबिन गरी प्रतिवेदन तयार गर्न र सोहीअनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए। प्रधानमन्त्रीको निर्देशनअनुरुप यस आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गृह मन्त्रालयले व्यक्त गरेको छ।

छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, त्यसलाई कम गर्ने उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
यसैगरी, भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे जानकारी दिएका थिए।
प्रकाशन मिति–२०७६ साल मंसिर ३० गते सोमवार ।