काठमाडौं। काठमाडौं महानगरमा व्यक्तिका घर भत्काएर सडक विस्तार गर्ने पक्षमा आफू नरहेको र सडक विस्तारका नाममा घर भत्काउन नदिने पक्षमा आफू रहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलासा गरेका छन्।

बढ्दो ट्राफिक जामको कारण देखाएर सडक विस्तार गर्ने कार्यभन्दा अनियन्त्रित सवारी साधनलाई नियन्त्रण तथा विस्थापित गर्नुपर्ने आवश्यकता माथि मेयर शाक्यले जोड दिएका छन्। सडक विस्तारका नाममा अनाहकमा काठमाडौं महानगरका जनताको घर भत्काएर उनीहरुको विचल्ली तथा उनीहरुलाई घरवारविहीन गर्न नहुने गर्न नदिने बचन मेयर शाक्यको रहेको छ।

सोमवार रिपोर्टस् क्लबले काठमाडौंको भृकुटीमण्डपमा आयोजित साक्षात्कार कार्यक्रममा मेयर शाक्यले उक्त जिकिर गर्नुको अलावा बचन दिएका हुन्। मेयर शाक्यले सडक विस्तारको विकल्प खोजी गर्नु आवश्यक भएको र त्यसको लागि आफूले मोनोरेलको अवधारणा ल्याएको र त्यसको संभाव्यता अध्ययन पूरा भैसकेको बताए।

आफ्नो कार्यकालभित्रै मोनोरेल काठमाडौं महानगरमा गुडाउने योजना मुताविक कार्य भैरहेको र मोनोरेल गुडेमा काठमाडौंमा अनियन्त्रित सवारी साधन आफ से आफ विस्थापित बन्ने तथा ट्राफिक जाम नहुने दावी पनि मेयर शाक्यको रहेको छ। त्यसवाट अनावश्यक रुपमा सडक विस्तार गर्न नपर्ने यथार्थ धारणा मेयर शाक्यले भन्न पछि परेनन्।

मेयर शाक्यले काठमाडौ महानगरपालिकामा निर्वाचित भएर आएको १७ महिनामा आफूले निर्वाचन घोषणा पत्रमा गर्छु भनेका ६० प्रतिशतभन्दा बढी कार्य संपन्न गरिसकेको बताएका छन्। काठमाडौं महानगरपालिकाको मातहतमा रहेका सहायक सडकको निर्माण तथा पूर्नरनिर्माण गर्ने लगभग सवै कार्य संपन्न भैसकेको बताउंंदै मेयर शाक्यले आ.व.२०७४–०७५ लाई काठमाडौं महानगरपालिकाले पूर्वाधार बर्षको रुपमा काम गरेको स्पष्ट पारे।

काठमाडौं महानगरका अधिकांश ढल, बाटो र सम्पदाको निर्माण कार्य भैसकेको र देखिने गरेर निर्माण गर्न वांकी काठमाडौंको शान र गौरब काष्ठमण्डपको पूर्नरनिर्माण कार्य शुभारम्भ भैसकेको मेयर शाक्यले बताए। त्यसैगरेर, रानीपोखरी, दरवार हाइस्कुल, धरहरा लगायतको पूर्नरनिर्माण कार्य पनि संपन्न हुने भन्दै मेयर शाक्यले कल्पनाको भन्दा यथार्थ धरातलमा काम गर्नु आवश्यक भएको कुरामा जोड दिए।

मेयर शाक्यले काठमाडौंको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापनमा रहेको र यस कार्यमा प्रदेश तथा केन्द्र सरकारको सहयोगमा दीर्घकालिन समाधान गर्न काठमाडौं महानगरपालिका लाग्दै रहेको पनि खुलासा गरे। आगामी बर्षादसम्म नुवाकोटको सिसडोलमा फोहर व्यवस्थापन गर्न नसकिने र त्यसको विकल्पमा बञ्चरे डाँडालाई छनौट गरेर दीर्घकालिन फोहर व्यवस्थापन गर्ने कार्य प्रारम्भ भैसकेको पनि मेयर शाक्यले बताए।

काठमाडौं महानगरपालिकाले प्रारुप तयार पारेको सिसडोलमा काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र काभ्रे, नुवाकोट र धादिङका फोहर पनि विस्थापन गरिने गरेको र व्यवस्थापन सवै काठमाडौं महानगरपालिका एक्लैले गर्नुपर्ने भएको यथार्थता पनि मेयर शाक्यले पत्रकारहरु समक्ष खुलासा गरे।

काठमाडौंका ११ वटै नगरपालिकामा कुनै अव्यवस्थित कार्य भएमा ती नगरपालिकाका मेयरहरुलाई दोष दिनुको सट्टा काठमाडौं महानगरपालिकाका मेयरलाई नै दोष दिने गरेको रमाइलो पक्ष पनि मेयर शाक्यले भने। सवैको विश्वास भएर नै काठमाडौं महानगरपालिकाका मेयरलाई दोष दिने गरेको यथार्थता बताउन मेयर शाक्य चुकेनन्।

त्यसैगरेर, काठमाडौं महानगरपालिका बसेको सुन्धारास्थित भवन बागदरवार नभएको र त्यो हरिभवन भएको खुलासा गर्दै बागदरवार उहिल्यै नै भत्किएर पोखराल्याण्ड, सिभिल मल जस्ता अनेक संरचना निर्माण भैसकेको यथार्थतालाई नबुझिकन हरिभवनलाई भीमसेन थापाको बागदरवार भनेर भ्रम फैलाउने कार्य भैरहेको र त्यही भ्रमको खेती गरेर हरिभवनलाई पूर्नरनिर्माण गर्न रोक लगाउने कार्य भैरहेको पीडा पनि मेयर शाक्यले ओकलेका छन्।

त्यसले गर्दा पनि काठमाडौं महानगरपालिका काठमाडौंका ६ वटा स्थानमा छरिएर रहन बाँध्य बनेको यथार्थता पनि मेयर शाक्यले पोखेका छन्। अर्कोतर्फ, काठमाडौं महानगरमा जथाभावी फोहर फाल्नेहरुलाई सार्वजनिक अभिनन्दन गर्न नेपाल प्रहरीसंगको साझेदारीमा ठाउंठाउंमा सिसी क्यामेरा जडान गर्न लागेको पनि बताए।

जथाभावी फोहर फाल्नेलाई सिसी क्यामेरा मार्फत ठाउंका ठाउं पहिचान गरेर उनीहरुको सार्वजनिक अभिनन्दन गरेर सम्मान गर्ने कार्य गर्न लागेको पनि मेयर शाक्यले योजना बताएका छन्। जसवाट फोहर फाल्नेको सार्वजनिक अभिनन्दन भएवाट निश्चित रुपमा अभिनन्दित हुने डरले पनि जथाभावी फोहर फाल्नेहरु हच्किने मेयर शाक्यको भनाई रहेको छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक १९ गते सोमवार