काठमाडौं। नेपाली चलचित्र उद्योगको महानायकका विषयमा चर्को बहस र विवाद भैरहेको छ। ख्यातिप्राप्त हांस्य अभिनेत्री दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा यस विषयमा वोलेपछि व्यापक विवादमा परेको यो विषयले नयाँ मोड लिएको छ। यस विवादमा युगिन नायिका निरुता सिंह पनि मुछिएकी छन्।

नायिका सिंहले सामाजिक सञ्जाल फेसबुकवाट सदावहार नायक भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेपछि यस विवादमा नायिका सिंह तानिएकी हुन। नयाँ पुस्ताकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको यौनजन्य दूर्व्यवहारको आरोप खेपिरहेका सदावहार नायक केसीसँगै आफू फिचर्ड गीतको भिडियो हालेपछि फेसबुक प्रयोगकर्ताले नायिका सिंह विरुद्ध प्रतिक्रिया जनाएपछि महानायक विवादमा उनी तानिएकी हुन।

धेरैले महानायक राजेश हमालको विपक्षमा उभिएको आरोप लगाए पछि निरुता स्पष्टिकरण दिन बाध्य भइन्।निरुताले आइतवार नयाँ पोस्टमार्फत् प्रश्न गरेकी–”मैले कहाँ र कहिले लेखे कि मेरा लागि महानायक राजेश हमाल होइन भुवन केसी हो भनेर ?”

निरुताले आफूले आजको नभइ त्यस समयको कुरा लेखेको बताएकी छन्। र उनले भनेकी छन्,–”मैले त्यस समयको कुरा गरेकी हुँ जुन बेला राजेश दाइले पनि नेपाली चलचित्र जगतमा पाइला राखेका थिएनन्।”

निरुताले आफूले सफल फिल्महरू कुसूमे रुमाल, सम्झना, साइनो लगायत हेर्दा भुवन केसी आफ्ना लागि सपनाको महानायक भएको प्रष्ट्याएकी छन्। जसलाई निरुताले आफूले नायक भुवन केसीलाई सम्‍मानपूर्वक दिएको उपाधिको रुपमा व्याख्‍या गरेकी छिन्। निरुताले ९ वटा बुँदामा आफूले भन्ने खोजेको कुरा प्रष्ट्याएकी छन्।

निरुताले स्टाटसमार्फत् आफ्नो पोस्टको गलत व्याख्या नगर्न आग्रह गरेकी छन्। साथै विश्व कोरोना भाइरसविरुद्ध लडाइ लडिरहँदा नेपालीहरू महानायक को भन्ने विषयमा लड्नु उचित नभएको निरुताको तर्क छ।


प्रकाशन मिति–२०७७ साल साउन १९ गते सोमवार ।