काठमाडौं। देशको लागि रगत दिएर बलिदानी बनेका बीर अमर शहीदहरुको संझनामा सप्ताहव्यापी शहीद दिवस मनाउने कार्य भैरहेको छ। जहानिया राणा शासन विरुद्ध आफ्नो ज्यानको बलिदानी दिने ती बीर अमर शहीदहरुको संझनामा काठमाडौं महानगरपालिकाले सप्ताहव्यापी शहीद दिवस मनाउने कार्य गर्दैआएको हो।

यस क्रममा आज मंगलवार दुई बीर अमर शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्द शहीद भएको काठमाडौंको शोभाभगवतीमा श्रद्धाञ्जली सभा गरिएको छ। आजैको दिन बीर अमर शहीद गंगालाल र दशरथ चन्दलाई शोभाभगवतीको विष्णुमती नदी किनारमा जहानिया राणा शासकहरुले गोली ठोकेर मारेका थिए।

तिनै बीर अमर शहीदको संझनामा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने बीर अमर शहीदहरु हामी सवैको प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन्। हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहिदको योगदान कसैसँग तुलना हुन नसक्ने जिकिर पनि मेयर शाक्यको रहेको छ।

श्रद्धाञ्जली सभामा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, संघीय सांसद जीवनराम श्रेष्ठ तथा काठमाडौं महानगरपालिका वडा नंबर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल लगायतले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने आवश्यकतामाथि जोड दिएका थिए ।

हुुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा विसं.१९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा गोली हानेर मृत्युदण्ड दिइएको थियो।

Photo By-Chandra Mani Bhattarai/Kathmandu Metropolitancity.

प्रकाशन मिति–२०७५ साल माघ १५ गते मंगलवार ।