काठमाडौं। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन भैरहेको लकडाउनको कारण काठमाडौं महानगरमा फोहोरको संक्रमण नहोस् भनेर काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था गरेको छ। फोहोरमा कामा गर्ने सफाई मजदुरहरुको सुरक्षाको लागि विशेष सुरक्षात्मक कार्यको थालनी गरेको छ।

त्यसक्रममा काठमाडौँ महानगरपालिकाले फोहरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर फोहर व्यवस्थापनका काम गर्ने सफाइकर्मीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराउने कार्य भएको हो।

काठमाडौं महानगरपालिकाले औषधि छर्ने काममा खटिने, फोहर व्यवस्थापन स्थलमा ल्याण्डफिल साइटमा खटिने, अस्पतालजन्य फोहर सङ्कलनमा खटिने कर्मचारीलालाई कोरोनाभाइरस (कोभिड–१९) बाट बच्ने सुरक्षात्मक सामग्री प्रदान गरेको छ। यसका लागि काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट कार्य गरिरहेको जनाएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनका समयमा महामारीबाट बच्न सबैै मानिस घरमै बसेका बेला पनि सफाइकर्मी कार्यरत रहने भएकाले उहाँहरुलाई जोगाउनु काठमाडौं महानगरपालिकाको पहिलो जिम्मेवारी रहेको बताएका छन्।

मेयर शाक्यले भने, “सामान्य अवस्थामा पनि र अनौपचारिक क्षेत्रमा काम गर्नेले पनि सुरक्षात्मक उपकरणको प्रयोग गर्नु अहिलेको आवश्यकता हो ।”

यो सुरक्षात्मक उपकरणमा सुरक्षा लुगा एक सेट, चश्मा, एउटा, पञ्जा एक जोर, बुट एक जोर, मास्क तीन थान, १०० एमएलको स्यानिटाइजर, एउटा साबुन, एउटा रुमाल, एउटा बाल्टिन र एउटा मग हुनेछ ।

उक्त सामग्री वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन सङ्घ नेपालको सहकार्यमा उपलब्ध गराएको हो । काठमाडौँ महानगरपालिकामा करिब ९ सय ५० कर्मचारी सरसफाइमा काम गर्छन् ।

फोहरमैला व्यवस्थापन सङ्घ नेपालको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा ६५ वटा सरसफाइ कम्पनी छन् । यी कम्पनीअन्तर्गत करिब २ हजार ५०० सरसफाइकर्मी काम गर्छन्।
प्रकाशन मिति–२०७६ साल चैत २३ गते आइतवार ।