काठमाडौं। लिच्छबीकालिन राजा मानदेवको राजधानी मानिएको आलामपुर हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट कृष्णचौरमा मुख्यालय रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकहरुको विशेष सम्मान गरेको छ। बडा दशैंको अवसरमा सहयोगी सहकारीले आफ्ना सदस्य ज्येष्ठ नागरिकहरुलाई विशेष सम्मान गरेको हो।

काठमाडौं, भक्तपुरको चाँगुनारायण तथा सिन्धुपाल्चोकको मेलम्ची भोटेचौरसम्म कार्य क्षेत्र रहेको समुदायकै सर्वोत्कृष्ट सहकारी मानिएको सहयोगी सहकारी संस्थाले बर्षेनी बडा दशैंको अवसरमा आफ्ना ज्येष्ठ नागरिकहरुलाई विशेष सम्मान गरिदैआएको जानकारी सहयोगीका अध्यक्ष रामेश्वर श्रेष्ठले दिएका छन्। यो बर्षको बडा दशैंको अवसरमा ज्येष्ठ नागरिकहरुलाई विशेष सम्मानका साथमा चिसोमा न्यानो ब्लाङकेट उपहार पनि प्रदान गरिएको थियो। अघिल्ला बर्षहरुमा थर्मस, घडी लगायत उपहार प्रदान गरिएकोमा चाँडै शुरु हुन लागेको जाडोलाई मध्यनजर गरेर ब्लाङकेट उपहार प्रदान गरिएको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिएका छन्।

अध्यक्ष श्रेष्ठले सहयोगीको तर्फवाट ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच तथा स्वास्थ्य बीमाका कार्यक्रमहरु ल्याउन लागेको पनि बताएका छन्। सहयोगीको अनुपम यस कार्यमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले पनि प्रमुख अतिथिको आसनवाट बोल्दै नगरपालिकाले सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा मेयर कार्कीले नगरवासी सवै ज्येष्ठ नागरिकहरुलाई यो बर्षवाट चाडवाड खर्च भनेर ज्येष्ठ नागरिक भत्तामा बर्षमा एकपल्ट भएपनि थप नगद १ हजार थपेर दिने आफूले निर्णय गरेको बताए। जसको उपस्थित ज्येष्ठ नागरिकहरुले खुला दिलले मुक्तकण्ठले तारिफ गरेर खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर १ का वडा अध्यक्ष मुकुन्द गजुरेल, वडा नंबर २ का वडा अध्यक्ष सुरज खड्का र वडा नंबर ३ का वडा अध्यक्ष राममणि पुडासैनीको विशेष आतिथ्यता रहेको थियो। स्वागत मन्तव्य सुनिता अधिकारी र अन्जित कुमार श्रेष्ठले दिएका थिए भने, संस्थाका प्रवन्धक महेश श्रेष्ठले संस्थाको गतिविधि प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन प्रल्हाद बस्नेतले गरेका थिए।

प्रकाशन मिति–२०७९ साल असोज १५ गते शनिवार ।