काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान नेपाल सरकारको संकल्प भएको भनेका छन्। नयाँ वर्ष २०७५ सालको शुभ अवसरमा कर्णाली प्रदेश स्थित मुगुको राराबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा भनेका हुन्।

नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्ने अवसर पनि भएको ओलीले भनेका छन्।

प्रधानमन्त्री ओलीले २०७४ साल, उथलपुथल र घटनापूर्ण सालको रुपमा रहेको बताए। ‘२०७४ साल महत्वपूर्ण राजनीतिक उपलव्धिको साल रह्यो’ ओलीले भने, ‘२०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य भयो र जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पायो। तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्यो। देशमा स्थायीत्वको नयाँ चरण आरम्भ भयो।’

निर्वाचन हुन नदिने, संविधान कार्यान्वयनमा व्यवधान खडा गर्ने र मुलुकमा अन्त्यहीन अस्थिरता सिर्जना गर्ने दुष्प्रयास विफल भएका ओलीले बताए। ‘निर्वाचनको सफलतासँगै नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ’ ओलीले भने, ‘इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको लक्ष्य सामाजिक न्याय, लोकतन्त्र, बराबरी सुरक्षा, समान अवसर, सुशासन, समृद्धि, र जनताको जीवन सुखी पार्नु रहेको बताएका छन्।
प्रकाशन मिति–२०७५ साल बैशाख १ गते शनिवार ।