काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसहरुको अत्याधिक भीड हुने स्थानमा पहिलो प्राथमिकतापूर्वक सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। सोमवार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको सम्बद्ध बिभागीय प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो।

गएको मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको कामअघि बढाउन उपमेयर श्रेष्ठलाई जिम्मेवारी दिएको थियो। सोही जिम्मेवारी अनुरुप उपमेयर श्रेष्ठले उक्त निर्णय गरेकी हुन्।

बैठकमा शहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेटोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्टलगायत निजी तथा व्यवसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिक रुपमा सञ्चालन गर्दा हुने आपसी हितका विषयमा पनि छलफल भएको काठमाडौं महानगरपालिका समाचार स्रोतले बताएको छ।

उपमेयर श्रेष्ठले चालु आर्थिक बर्षमा सार्वजनिक शौचालयका निर्माणका लागि बिनियोजन भएको ३ करोड रुपैयाँबाट काम गरिने बताएकी छन्। महानगरको शहरी योजना आयोगले काठमाडौंमा उपयुक्त हुने सार्वजनिक शौचालयका ढाँचा, लागत र स्थानको अध्ययन गरिसकेको छ। ती ढाँचा लिएर उपयुक्त स्थानमा शौचालय निर्माण प्रक्रिया अघि बढाउने जानकारी पनि उपमेयर श्रेष्ठले दिएकी छन्।

बैठकले प्रशासन बिभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा ‘व्यवसायिक सामाजिक उत्तर दायित्व नीति मस्यौदा कार्यदल’ गठन गरेको छ । कार्यदलको सदस्यमा वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ, सार्वजनिक निजी साझेदारि इकाइ प्रमुख ध्रुब काफ्ले र खरिद इकाइका प्रमुख बलराम त्रिपाठी रहेका छन् भने सदस्य सचिवमा उपनिर्देशक गंगाधर गौतमलाई तोकिएको छ।
प्रकाशन मिति–२०७६ साल माघ १३ गते सोमवार ।