–रामप्रसाद न्यौपाने
समाज परिवर्तनका बाहक सामाजिक अभियन्ता हुन । सामाजिक अभियन्ता भन्नासाथ सामाजिक सेवाको माध्याम वा एउटा राजनीतिक कार्यकर्ताको हैसियतबाट सामाजिक रुपान्तरणमा योगदान दिने बर्गहरु हुन। अहिले समाजले राखेको चाहना र खोजेको सेवा भनेको कोरोनाभाइरस (कोभिड– १९) को महामारीबाट बच्नु नै हो । र, अहिले यिनै सामाजिक अभियन्ता हुन या राजनीतिक कार्यकर्ता हुन! उनीहरु समाज परिवर्तन गर्न चाहनेहरु कोभिड–१९ सँग जोड्ने कोशिशमा छन्।

आफू सामाजिक अभियन्ता र समाजको सचेत सदस्य भएको नाताले यस्तो अवस्थामा केही गरेर जानसके समाज तथा आफू र आफ्ना आगामी पुस्ताले स्मरण गर्नेछन भन्ने सोच राख्नु पर्दछ । र यही सोच तथा भावनाले ओतप्रोत बनेर सामाजिक अभियन्ता बन्नु आवश्यक छ । तर, समाज परिवर्तन गर्न शब्द तथा भनाइले मात्र पर्याप्त देखिएन ।

अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)ले त्रसित मानसिकता र समाजमा आफ्नो परिवारसँगै डराएर बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा त्यस्तो माग भएकोे समाजलाई रुपान्तरण गर्न कार्यकर्ता तथा अभियन्ताहरु समाजमा जति देखापरे तिनीहरुबाट सोचेजस्तो र भनेजस्तो त्यो पर्याप्त सेवा पाएनन् र रहेनछ पनि । त्यो केवल शब्दसँग मात्र खेल खेल्दा रहेछन भन्ने कुरा पुष्टि भएको देखिन्छ।

समाजमा एकातर्फ भोक छ भने अर्कोतर्फ रोगसँग भिड्नैपर्ने अवस्था छ । यसले समाजको चाहनालाई संबोधन गर्न कठिन बनाएको र अभियन्ताहरु सफल पनि देखिएनन् । हुनत यो सन्दर्भ नेपालको मात्र होइन । तरपनि हामीले शक्ति राष्ट्रहरुसँग तुलना गर्न पनि सकेनौ । र, उनीहरुले गरेको बुझ्न पनि खोजेनौ । हामीले आफ्नो देशमा के गरिरहेको छौ भन्ने कुरा मनन् पनि गरेनौ । के गर्नुपर्छ भन्नेमा हाम्रो ध्यान पनि गएन ।

समाजले खोजेको र गर्नुपर्ने कुरामा पनि खासै चासो गएन । र एउटै रह्यो, राष्ट्र असफल भयो भन्ने जमात (भिड) मात्रै देखियो । यसले कतिपय कुरा त्यसमा सीमित हुन्छन होला तर समाजमा हुने घट्नाक्रम त समाजसँग नै रहन्छ र पछिसम्म देखिन्छ पनि होला नि त ! अभियन्ताले यो सोचेको देखिदैन । आज हामी गरिव देशका जनताका रुपमा परिचित छौ।

भोकको चपेटामा परेर मर्नपर्ने अवस्था छ । समाजले हेर्ने र प्रत्यक्ष ब्यहोर्ने कुरा विभिन्नमध्ये बजार पनि एक हो । ‘जहाँ गाह्रो त्यही साह्रो’ भने जस्तो बजार मूल्य हेर्ने हो भने आलु जस्तो बस्तुको मूल्य नि अहिले २५० रुपियाँ धार्नी पुगेको छ। कोभिड –१९ ले काम गर्ने अवसर सबैजसो गुमाएको देखिन्छ भने महंगीले मानिस मर्नु कि बाँच्नुको अवस्थामा पु-याएको छ । यो अवस्थामा समाजले खोजेको कुरामा हामी कहाँनेर सहयोगी बन्नसक्यौँ त ?

सामाजिक अभियन्ताहरु त्यही समाजको राजनीतिक हिसावले ओहदामा होलान वा अभियन्ताको रुपमा मात्रै होलान। खोइत ! महंगी नियन्त्रण । देशमा नै जताततै उत्पादन हुने, हुनसक्ने आलुको मूल्य नै के कारणले एकाएक धार्नीको २५० पुग्यो ? कहीँ कतैबाट न लेखाजोखा छ, न गर्ने प्रयास गरिएको छ। केभिड–१९ को बहाना, नामले सजिलो बनाइदियो, यसले समाजलाई कस्तो असर पारेको छ ? यो कहीँ कतैबाट हेरिएन।

अहिले अवस्था यस्तो छ कि ३ बर्षको बच्चाले नि बिहान उठ्दा बित्तिकै आज कोरोनाले कतिजना मरेछन बाबा भनेर सोध्छन। यसो हेर्दा सरकारको काम खाली डाटा दिने मात्रै देखियो । जनताका निम्ति यो सुविधा र सेवाको ब्यवस्था छ भनेर भन्न कहीँ कतैबाट सकेन । अहिले राज्य सत्ताबाट बैदेशिक सहयोग भित्राउने, अनि समस्या देखाएर जनता त्रसित बनाउने काम भयो ।

आखिर के देश र जनता यस्तो महामारीमा परेका बेला सरकारको काम यही हो त ? सरकारले यो भन्न सकेन कि जनतालाई – ‘हामीले यो राहत प्याकेज ल्याएको छौ, तपाइँहरु नआत्तिनुस, जनतालाई पर्दा सरकार छ’ भनेर अप्ठयारोमा मल्हम लगाउन खोजेको ?

रोग भनेको कुनै न कुनै रुपमा निरन्तर आइराखेको हुन्छ । किन सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउन चाहनेले यो कुरा गर्दैनन् । यस्तो अवस्थामा बिदेशीले गरेको राम्रो कुरा नल्याउने, नराम्रा कुरा चाहिँ गरेर जनता तर्साउने ! यस्तो कुरा कुन निकायबाट सुनवाई हुन्छ ? कसले उठाउँछ ?
परीक्षणको बहानामा बिदेशी दाताबाट ल्याएको रकम झ्वाम पार्ने अनि सरकारसँग साधन स्रोत छैन भन्ने ? अस्पतालमा आइसियू, सिसियू र भेन्टिलेटर खाली छैन भन्दै सरकार नै जनतालाई तर्साएर एकातिर मानसिक रोगी बनाउदैछ भने अर्कातिर केही रोग नभए पनि आत्तिएर नै मर्ने वातावरण बनाउँदैछ। यो बिषयमा सचेतना ल्याउन जरुरी छ । मानसिक तनावले आत्महत्या गर्नेको सङख्या बढ्दैछ । यसका लागि सरकारले सम्बोधन गरेको खै !

यससँगै काठमाडौँ लगायतका विभिन्न ठूला शहरमा बिदेशबाट आएर बस्ने प्रशस्त छन, उनीहरुको संरक्षण गर्ने कि तिमीहरु घरमै बसे वा हेरचाह नपाएर मरिराख भन्ने हो ? खोईत ! हामी अन्य ठाउँबाट आएकालाई रोक्न सक्दैनौ भन्ने किन यस्तो भइराखेको छ त ? परिस्थिति र वातावरण हेर्दा अब हामी सरकारको मुख मात्र हेरेर बस्ने हो भने समाज भयावह अवस्थातिर जाँदैछ । त्यसै हामी सामाजिक अभियन्ताको रुपमा लाग्नेहरुले जेो जहाँ र जुन समाजमा छौ जोखिम न्यूनीकरणका उपायहरु अपनाउँदे समाजलाई भयरहित बनाउन लाग्न जरुरी छ । यो कोभिड –१९ तुरुन्त समाप्त हुने होईन ।

यो पूर्ण नियन्त्रणमा आउदैन । यदि यो चार–पाँच बर्ष रहेमा हाम्रो जस्तो देशमा अशान्ति फैलिने समाज बिद्रोहको बाटोमा जानसक्छ । यो कोभिड –१९ भन्दा अझ घातक हुन्छ । यसलाई राज्य सत्तामा बस्नेलगायत सामाजिक अभियन्ता सबैले बुझ्न जरुरी छ । समयमै यस्को नियन्त्रण, संबोधन र ब्यवस्थापन गर्न सरकार चुक्नु हुदैन । यसो गर्न नसकिएमा सरकार त आउँछ, जान्छ तर देशलाई हानी र खतरा पुग्छ।

(लेखक रामप्रसाद न्यौपाने सामाजिक कार्यकर्ता तथा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का सभापति हुनुहुन्छ ।)
                        (नामी साप्ताहिकवाट साभार)
             प्रकाशन मिति–२०७७ साल भाद्र २७ गते शनिवार ।