काठमाडौं। नेपाली चलचित्र उद्योगमा अविच्छिन्न ३५ बर्षदेखि सक्रिय रुपमा लाग्दैआएका चलचित्रकर्मी सरोज शर्माले चलचित्र वितरण गर्न थालेको पनि दुई बर्ष पूरा भएको छ। यस कार्यमा सिनियर फिजियोथेरापिष्ट सुनिता भट्टराईको साथ तथा सहयोग पनि चलचित्रकर्मी शर्मालाई रहेको छ।

तिरुपति पिक्चर्स कंपनी मार्फत दुवैले चलचित्र वितरणको नयाँ व्यवसाय शुरु गरेको दुई बर्षको अवधिमा १६ वटा नेपाली कथानक चलचित्रको देश तथा विदेशमा वितरण गर्ने कार्य भएको छ। १६ वटै चलचित्रको व्यापार औसत भएतापनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को कारण जारी लकडाउनले आफूहरुको चलचित्र वितरण व्यवसाय विगत पाँच महिनादेखि ठप्प नै भएको चलचित्र अचानकको निर्माता समेत रहेकी सुनिता भट्टराईले वताएकी छन्।

अझै यो एक बर्षसम्म यो व्यवसायमा असर पर्ने अनुमान भट्टराईको रहेको छ। कोरोनाको कहर नभएको भए, तिरुपति पिक्चर्सवाट सुनिता र सरोजले चलचित्र निर्माण गर्ने पनि योजना गरेका थिए। सोही योजनानुरुप नयाँ बर्ष २०७७ बैशाख महिनावाट चलचित्र विवाह निर्माण गर्ने घोषणा समेत भैसकेको अवस्थामा चैत ११ गतेवाटै लकडाउन शुरुभएपछि त्यो योजना अर्को बर्षका लागि पाइलट प्लानका रुपमा दुवैले राखेका छन्।

बलिउडका ख्यातिप्राप्त अभिनेता जितेन्द्रका फ्यान सरोज शर्माले जितेन्द्रको प्रोड्क्सन कंपनी तिरुपति पिक्चर्स भएको कारण आफूले पनि तिरुपति पिक्चर्स राखेको हुन। पचासको दशकमा नै पचासभन्दा बढी भिडियो फिल्म निर्माण गरेर कीर्तिमान कायम गरेका सरोज शर्मा तिरुपति पिक्चर्सवाट चलचित्र क्षेत्रमा थप फड्को मार्ने कसरतमा रहेका छन्। जसमा सिनियर फिजियोथेरापिष्ट समेत रहेकी सुनिता भट्टराईले पनि सारथी वनेर सहयोग गर्ने कार्य भैरहेको छ।


प्रकाशन मिति–२०७७ साल साउन ४ गते आइतवार ।