By-Nirmal Bajracharya
काठमाडौं। नेपालभाषा एकेडेमीको गौरबमय प्रस्तुति मानिकाएको सर्जक व सिर्जना कार्यक्रम संपन्न भएको छ। कीर्तिपुरस्थित नेपालभाषा एकेडेमीको मुख्यालयमा आयोजित सभ्य तथा भव्य कार्यक्रममा वीच सर्जक व सिर्जना २ संपन्न भएको हो।

सर्जक व सिर्जनाको श्रृंखला २ मा यसपटक वरिष्ठ आख्यानकार मथुरा साय्मिको जीवनी र कथाहरुलाई विषय बनाइएको थियो । जसमा नेपालभाषाका दिग्गज साहित्यकारहरुले आकर्षक शैलीमा प्रस्तुत गरेर आख्यानकार सायमिको र सायमिको सिर्जनाको वारेमा दिलखोलेर प्रस्तुति दिएका थिए।।

प्राध्यापाक प्रेमशान्ति तुलाधरले वरिष्ठ आख्यानकार सायमिका जीवनी र कृतिका बारे सविस्तार प्रस्तुत गर्दा विसं.२०२६ सालमा हितकर वीर सिं कसाःले आयोजना गरेको पहिलो अन्तर कलेज साहित्य सम्मेलनमा गुरु दुर्गालालले सम्पादन गरेको सायमिकोे कथा प्रथम भएको प्रसंग सुनाउन चुकिनन् ।

एकेडमीका उपकुलपति मल्ल के सुन्दरले वरिष्ठ आख्यानकार सायमिलाई उपन्यासकारभन्दा पहिले असन बजारका प्रसिद्ध पेडा साहुको रुपमा चिनेको ऐतिहासिक तथ्य उजागर गर्दै सायमि माइल्ड स्ट्रोक भएरपनि दाहिने दुई औंलाको भरमा ७६ पृष्ठ लामो चिपनिप कथा लेखेको प्रसंग उल्लेख गर्दै स्वास्थ्यलाभको कामना समेत गर्न भ्याएका थिए ।

त्यस्तै, साहित्यकार रिना तुलाधर बनियाले आख्यानकार सायमिको उपन्यास तथा कथाका बारे समालोचना गरेकी थिइनभने उपन्याकार राज सायमिले आख्यानकार सायमिको व्यक्तित्वका बारे चर्चा गर्न थाकेनन्। वरिष्ठ साहित्यकारहरु प्रतिसरा साय्मि र शाक्य सुरेनले आख्यानकार मथुरा सायमिका कथा वाचन गरेभने शरद कसाःले मथुरा याम्हगस शिर्षकको आत्मपरक कथावाचन गरे । लोककवि राजभाई जकःमि र वरिष्ठ गायक वीरप्रसाद भन्सारीले कविता र गीत प्रस्तुत गरेका थिएभने सुधा महर्जन र नसला महर्जनले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

एकेडमीका कुलपति यज्ञरत्न धाख्वाःको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा एकेडमीका सदस्य सचिव डा पुष्पराज राजकर्णिकारले स्वागत गरेका थिए । एकेडमीको साहित्यिक समितिका संयोजक साहित्यकार त्रिरत्न शाक्यले धन्यवाद् ज्ञापन गरेका थिए। कार्यक्रम शकुन्तला महर्जनले आकर्षक ढंगले संचालन गरेका थिए । यसअघि एकेडमीले करिब एक बर्ष पहिले सर्जक व सृजनाको पहिलो श्रृंखलामा जनकवि दुर्गालाल श्रेष्ठलाई प्रस्तुत गरेका थिए।

प्रकाशन मिति–२०८० साल जेठ २२ गते सोमवार ।