काठमाडौं। सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको छ। जसवाट एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको हो। दुई नम्बर प्रदेश प्रहरी प्रमुख हरि पालले गोली हानाहानमा पौडेलको मृत्यु भएको बताएका छन्। पौडेल विप्लवका जिल्ला इन्चार्ज हुन्।

लालबन्दी नगरपालिका वडा नम्बर १ मा गोली हानाहान भएको हो। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले लालबन्दीबाट सिन्धुलीतर्फ गइरहेका दुईवटा मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा गोली हानाहान भएको समाचार माध्यमहरुलाई भनेका छन्। मृतक पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ। दुईवटा मोटरसाइकलमा आएका चारजनाले प्रहरी माथि फायर खोलेको प्रवक्ता डिआइजी पोखरेलले बताए।

मारिएका पौडेलले बोकेको झोलाबाट थ्री नट थ्री राइफलको गोली र सिक्सर पेस्तोल समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ। घटनामा बाँकी तीन जना भने भाग्न सफल भएका छन्।
प्रकाशन मिति–२०७६ साल असार ५ गते विहीवार ।