काठमाडौं। सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता चारदिन पछि लिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।

सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि राजपत्रमा प्रकाशित गरिएको थियो। राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेता विना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्ताउन खोजेको र प्रतिपक्षी दलको नेता विना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर संविधानको मर्म विपरीत सरकार हिँड्न खोजेको भन्दै नेकपाभित्र र बाहिर व्यापक आलोचना भएपछि सरकार अध्यादेश फिर्ता गर्न वाँध्य भएको हो।

सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै अध्यादेश खारेज गरेकी हुन्।
प्रकाशन मिति–२०७७ साल बैशाख १२ गते शुक्रवार ।