ललितपुर । बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले बृहत रुपमा गरिन लागेको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को टप–टेन सार्वजनिक भएको छ। प्रतिस्पर्धी सहभागी ५७ वटा नेपालभाषाका म्युजिक भिडियोका २१ वटा विधामा टप–टेन अवार्ड सार्वजनिक भएको हो।

यही आउने मंसीर १३ गते शुक्रवार ललितपुरको बेखाज् पार्टी भेन्यु बागडोलमा भव्य समारोह वीच पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को टप–टेनमा पर्ने सफल कलाकर्मी तथा प्राविधिकहरुलाई मेडल तथा प्रमाण–पत्र प्रदान गरिने आयोजक स्वतन्त्र संसार महर्जनले भिजन संसार डटकमलाई दिएका छन्।

आयोजक महर्जनका अनुसार, यस अवार्डमा विशेष अवार्ड सातजनालाई प्रदान गरिने भएको छ। जसलाई संसार सप्तरंगी अवार्ड भनिएको छ। उक्त अवार्ड अग्रज अभिनेता तथा निर्देशक पवन जोशी, नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरे, उस्ताद मनराजा नकर्मी, नेपालभाषा चलचित्रका प्रथम नायक जय श्रेष्ठ, नायिका हिसिला महर्जन, गायक जुजुकाजी रञ्जित र मेकअप आर्टिष्ट सनमकुमार घायललाई प्रदान गरिने भएको छ। संसार मल्टीप्र्रपोज अवार्ड पत्रकार ललेन्द्र शाक्यलाई दिइने भएको छ। लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपालभाषाका अग्र्रज संगीतकर्मी अमरराज शर्मालाई प्रदान गरिने भएको छ।

नेपालभाषा संगीत तथा चलचित्रका विविध विधामा अवार्ड दिइने नेपाल भाषा स्टार म्यूजिक भिडियो अवार्डस् नेपालभाषा म्युजिक भिडियो तथा संगीत क्षेत्रका उदाहरणीय अत्यन्त गर्बिलो कार्य हुने निश्चित छ। यो नेपालभाषाको सबैभन्दा बढी बिधामा पुरस्कार दिइने अवार्ड पनि हो।
प्रकाशन मिति–२०७६ साल मंसीर ११ गते बुधवार ।