काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाईसमेत मुददा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्च अदालतमा मुददा दायर गरेको हो।

दायर गरेको रिटमा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने निर्णय नीतिगत हुन नसक्ने जिकिरसहित उनीहरुमाथि मुददा दायर गर्न अन्तरिम आदेश माग गरिएको छ। यस प्रकरणमा अख्तियारले विशेष अदालतमा दायर गरेको मुददा बदर गरी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाईसमेत दोषी ठहर गर्दै पुरक अभियोगपत्र दायर गर्नुपर्ने माग पनि गरिएको छ।

अख्तियारले यही माघ २२ गते १७५ जनाविरुद्ध मुददा दायर गर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुददा नचलाउने निर्णय गरेको थियो। तर, मन्त्रिपरिषदमा प्रस्ताव लगेको आरोपमा तीन पूर्वमन्त्री र तीनजना पूर्वसचिवलाई भने मुददा लगाइएको छ ।
प्रकाशन मिति–२०७६ साल माघ २९ गते बुधवार ।