काठमाडौं। सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमवार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई नै सर्वोच्च अदालतले पनि सदर गरेको छ। सर्वोच्चले ुचौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ’ भनि फैसला सुनाएको हो।

जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेश विरुद्ध चौधरीले उच्च अदालत दिपायलमा मुद्दा दायर गरेको थिए। उच्च अदालतले समेत जिल्लाकै आदेश विसं २०७४ चैत २२ गते सदर गरेपछि उनले उक्त निर्णय बदर गरी पाउँ भनि सर्वोच्च अदालतमा गएका थिए। चौधरीलाई विसं.२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित आठ जनाको हत्या भएको घटनाको मुख्य आरोपी मानिएको छ।

सो घटनापछि फरार रहेकै अवस्थामा चौधरीले कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विजयी भएका थिए।

राजपाकै चर्को दबाबमा चौधरीलाई यही पुस १९ गते प्रतिनिधीसभाका सभामुख कृष्णवहादुर महराले सपथ गराएका थिए। चौधरीले सांसदको सपथ ग्रहण गरेतापनि प्रतिनिधीसभाको कुनैपनि बैठकमा भने भाग लिन पाउदैनन्। चौधरीलाई प्रतिनिधीसभाले निलम्बित सांसदको दर्जा दिएको छ
प्रकाशन मिति–२०७५ साल पुस २३ गते सोमवार ।