काठमाडौ। बलिउडका ख्यातिप्राप्त अभिनेता सलमान खानलाई कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ।

भारतको जोधपुर अदालतले सलमानलाई कालो हरिणको शिकार गरेको अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको हो। सन १९९८ मा भारतको जोधपुरको ग्रामीण क्षेत्रमा कालो हरिणको शिकार गरेको अभियोगमा सलमानसहित पाँचजना विरुद्ध मुद्दा दायर गरिएको थियो।

सोही मुद्दाका अन्य आरोपी फिल्म अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीमललाई भने अदालतले सफाई दिएको छ। सुपरस्टार सलमानसहित पाँचै जना ‘हम साथ साथ है’ भन्ने हिन्दी फिल्मको सुटिङको लागि जोधपुर गएका थिए।

प्रहरीले त्यस बेला सलमानलाई राइफल र रिभल्भरसहित समातेर पाँच दिन थुनामा राखेको थियो। दोषी ठहर भएका सलमानलाई भारतको वन्यजीव कानुन अनुसार ६ वर्षसम्मको सजाय हुनु पर्ने सरकारी वकिलले माग दाबी गरेका थिए। उता सलमानका वकिल हस्तीमल सारस्वतले निर्दोष भएको भन्दै दुई वर्षको मात्रै जेल सजायको माग गरेका थिए।


(भारतीय समाचार माध्यमको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र २२ गते विहीवार ।