काठमाडौं । व्यापक दवावपछि यातायात ब्यवस्था विभाग सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ।  पत्रकार सम्मेलन गर्दै आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिदै विभागपछि हटेको हो।

अव साउन १ गतेदेखि नै इम्बोस्ड अनिवार्य नहुने भएको छ। यातायात ब्यवस्था विभागले २०७८ कात्तिक २२ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको दाबी गरेको छ।

शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मशान्तभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नुपर्ने नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो । बिरोधपछि आफनै निर्णय सच्याउदै साउन १ गते विहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनसाय विभागको नभएको जिकिर गरेको छ।

गत कात्तिक २२ मा प्रकाशित राजपत्रमा २०७८ मंसिर १ गते देखि नयाँ दर्ता हुने सवारी साधन, फागुन १ देखि नामसारी हुने सवारी साधन र २०७९ जेठ १ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने उल्लेख थियो।

विभागले राजपत्रको सूचनामा तोकिएको सवारी साधनमा मात्र अनिवार्य गरेको र अन्य सवारी साधनमा सम्बन्धित सवारी कार्यालयहरुले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने बताएको छ। पूर्वाधार तयार भएका बागमती र गण्डकी प्रदेशमा सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सहि नभएको विभागको दाबी छ।

विभागले अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारी साधनमा जडान गर्न नसकिने पनि स्वीकारेको छ । तर, विभागले राजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारी साधनमा जोडिएको वा नजोडिएको भन्नेबारेमा भने अनुगमन गर्ने बताएको छ ।

यता मंगलबार पनि प्रतिनिधि सभा बैठकमा सांसदहरुले आगामी असारभित्रै सवारी साधनमा इम्बोस्ड नम्बर राख्नुपर्ने यातायात व्यवस्था विभागले जारी गरेको प्रावधान फिर्ता लिन माग गरेका थिए। विभागले अहिले करिब २ लाख ५० हजार इम्बोस्ड नम्बर प्लेट छापिएर भण्डारमा रहेको जानकारी दिएको छ।
प्रकाशन मिति–२०७९ साल जेठ २८ गते शनिवार ।