काठमाडौं। राजनीतिभन्दा धेरै माथि रहेर स्वतन्त्ररुपमा कला र कलाकारिताको योद्धाको रुपमा अभिनेत्री सरिता लामिछानेले नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारीको घोषणा गरेकी छन्।

आफू कुनैपनि पार्टीको लबी तथा किनारामा कलाकारिता नगरेको र तिनको निर्देशनमा कलाकार नबनेको दावी सहित कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको अभिनेत्री लामिछानेले भिजन संसार डटकमलाई बताएकी छन्।

कलाकार संघलाई राजनीति मुक्त संघको रुपमा अग्रता दिनको लागि आफ्नो उम्मेदवारी भएको बताउंदै अभिनेत्री लामिछानेले आफ्नो सोच कुनै राजनीति नभइकन केवल चलचित्र र चलचित्र कलाकारको हक, हित तथा अधिकार हो भनेकी छन्। यही चैत्र २३ गते चलचित्र कलाकार संघको १७ औं महाधिवेशनमा हुन गैरहेको चुनावी मैदानमा अध्यक्षको उम्मेदवारी घोषणा गरेकी अभिनेत्री संघको बर्तमान महासचिव हुन्।

दुई दशक लामो चलचित्र कलाकारिताको अभिनय यात्रामा होम्मिएकी अभिनेत्री लामिछानेको अभिनय यात्रा तुल्सी घिमिरे निर्देशित लामो भागको गजबको टेलिसिरियल मुक्तिवाट भएको हो। त्यसपछि दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री लामिछाने टेलिभिजनको पर्दामा सशक्त नारी पात्रको रुपमा चिनिन्छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ११ गते सोमवार ।