काठमाडौ। नेवाःपत्रकारिता क्षेत्रमा नयाँ मासिक पत्रिका नेवाःजः प्रकाशनमा आएको छ। नेवाःपत्रकार राष्ट्रिय दबू, काठमाडौँले शुक्रबार आयोजित कार्यक्रममा नेवाः जः मासिकको विमोचन गरेको हो।

३ नंबर प्रदेश काठमाडौँ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित नेवाः सभासद् तथा वरिष्ठ पत्रकारहरुले संयुक्तरुपमा नेवाःजः मासिकको लोकार्पण गरेका हुन्। लोकार्पित पत्रिकाको पहिलो अंकमा स्वर्गवासी नेवाःपत्रकार सानुकाजी महर्जन विशेषाङ्क रहेको छ। जसको सम्पादक सशक्त संचारकर्मी विराजकाजी राजोपाध्याय रहेका छन्।

लोकार्पण समारोहमा प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले राज्यबाट सञ्चार क्षेत्रलाई उपलब्ध गराइने सुविधा नेवाः सञ्चारकर्मीको पनि अधिकार भएको उल्लेख गरे। वरिष्ठ पत्रकार पुष्कर माथेमाले नेपाल भाषामा पत्रिका प्रकाशन भए पनि त्यसको निरन्तरतामा समस्या हुने गरेको सन्दर्भप्रति ध्यानाकर्षण गराए।

नेवाः राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाःपत्रकारहरुको हकहितका लागि गठन भएको संस्थाले मासिक पत्रिका प्रकासन गरेकोमा खुशी व्यक्त गरे। महर्जनले सानुकाजी स्मृति अङ्क प्रकासन गरेर नेपाल भाषी पत्रकारलाई अमर बनाउने पत्रकार दबू, काठमाडौँको प्रयास सराहनीय समेत उल्लेख गरे।

नेवाः जःका सम्पादक तथा पत्रकार दबू, काठमाडौँका उपाध्यक्ष विराजकाजी राजोपाध्यायले सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ्गको रुपमा लिइने भए पनि अब देश संघीयतामा प्रवेश गरिसकेको स्थितिमा प्रदेश नं ३ मा नेवाः सञ्चार क्षेत्रको स्थान र औचित्यको विषयमा नेवाः सभासद्हरुले पनि विचार पुर्याउनुपर्ने धारणा राखेका थिए ।

यसैगरी,पत्रकार दबू, काठमाडौँका सचिव प्रजित शाक्यले दिवंगत पत्रकार महर्जको स्मरण गर्दै नेवाः सञ्चारकर्मीको सहायताका लागि सानकाजी कल्याण कोष गठन गरिएको जानकारी दिए। उनले सो कोषमा सहयोग गर्न आह्वान पनि गरेका छन् । सोही अवसरमा सानकाुजी स्मृति नेवाः मिडिया कप फुट्सल प्रतियोगिताको आयोजना गर्ने घोषणा पनि सचिव शाक्यले गरे।

पत्रकार दबू, काठमाडौँका अध्यक्ष नातिकाजी महर्जनले ठूला सञ्चार गृहमा नेवाः लगायत अन्य जनजातिको गतिविधिका समाचार प्रकाशनमा कञ्जुस्याईँ हुने गरेको र यसबारेमा ध्यानाकर्षण गराउनुपर्नेमा कुरामा जोड दिए।

प्रकाशन मिति–२०७४ साल फागुन २५ गते शुक्रबार ।