ललितपुर। सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहणका विषयमा पटक–पटक स्थगित हुंदै अन्ततः शनिवार नागपञ्चमीको साइत निकालेर रथारोहण गराइएको छ। कोरोना कहर कारण भएको लकडाउनले गर्दा रोकिएको रथारोहण शनिवार शुभ साइत हरेर गराइएको हो।

पाटनको तःबहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो। रथारोहण गराइएतापनि रथयात्रा भने अझै टुंगो लाग्न सकेको छैन। शुक्रवार बसेको सरोकारवालाहरुको बैठकले हाललाई रथारोहण गराएर उपयुक्त समयमा रथायात्रा गर्ने सहमति गरेपछि रथारोहण गरिएको थियो।

लकडाउन अन्त्य गरिएतापनि अझै कोरोना कहर जारी रहेको अवस्थामा सीमित संख्यामा मानिसहरु राखेर रथ तान्ने योजनामा गुठी संस्थान लगायत स्थानीय सरोकार निकायहरुको योजना रहेको छ। हाललाई भाद्र १ गते पछि पूर्ण धार्मिक विधिहरु अपनाएर रथ यात्रा गर्ने भनिएतापनि निश्चित भने गरिएको छैन्।


प्रकाशन मिति–२०७७ साल साउन १० गते शनिवार ।