काठमाडौं। लिच्छवीकालिन नगरी आलामपुर हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट मुख्यालय रहेको समुदायकै अब्बल सहकारी सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यमा पनि अब्बलता हासिल गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी सहकारीले बेला बखत विभिन्न सामाजिक कार्यमा सहयोगात्मक कार्य गरेर अब्बलता हासिल गरेको हो।

यसक्रममा यो माघ महिनाको १६ र २१ गते निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत निःशुल्क आँखा जाँच तथा मोतिया विन्दूको सफल शल्यक्रिया गर्ने कार्य संपन्न गरेको छ। त्यस्तै, निःशुल्क दन्त शिविर पनि सोही दिनहरुमा एकसाथ संचालन गरेर अतुलनीय योगदान दिने कार्य भएको छ।

सहयोगी सहकारीका अध्यक्ष रामेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार, शहीद दिवसको दिन माघ १६ गते सोमवार सहयोगी सहकारीको मुख्यालय रहेको आलापोट कृष्णचौरमा निःशुल्क आँखा तथा दाँत उपचार शिविर संचालन भएको थियो । जसमा २०४ जना शिविरवाट लाभान्वित बनेका थिए ।

त्यस्तै, सहयोगी सहकारीको मेलम्ची भोटेचौर स्थित सेवा केन्द्रमा माघ २१ गते शनिवार निःशुल्क आँखा तथा दाँत उपचार शिविर संचालन भएको थियो । जसमा ११६ जना लाभान्वित बनेका थिए । आलापोटमा २६ जना र भोटेचौरमा १५ जना गरि जम्मा ४१ जनाको मोतिबिन्दुको निःशुल्क सफलतापूर्वक शल्यक्रिया संपन्न भएको थियो। जसवाट स्थानीयले ठूलो राहत महशुश गरेका थिए ।

आलापोटमा  १९८ र भोटेचौरमा ८७ गरि जम्मा २८५ जना दाँतकोका बिरामीको दन्त परीक्षण तथा सफाइ (स्केलिङ) गरिएको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिएका छन्। लायन्स क्लब अफ रामेछापको सहयोग तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र ओम समाज डेन्टल अस्पतालको प्राबिधिक सहयोग रहेको पनि अध्यक्ष श्रेष्ठले भनेका छन्।

सहयोगीको शेयर सदस्य लघुवित्त र बचत तथा ऋणको गरेर जम्मा ८४४१ जना रहेको छ। त्यस्तै, आलापोटमा केन्द्रिय कार्यालय र मेलम्ची भोटेचौर लगायत जहरसिंहपौवा, जोरपाटी, गागलफेदी र साँखुमा सेवा केन्द्र छ। शनिवार पनि खुल्ने सहयोगी सहकारी संस्थाको कार्यको सवै स्थानीयले खुलेर प्रशंशा गर्ने गरेको छ।
प्रकाशन मिति–२०७९ साल माघ २३ गते सोमवार ।