काठमाडौं । नेपालको प्रतिनिधिसभाका सांसद निरुदेवी पाललाई ज्यानको धम्की दिएर कञ्चटमा पेस्तोल ताकेको घटनामा काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सांसद पाललाई अज्ञात व्यक्तिले पेस्तोल ताकेको विषयमा महानगरीय प्रहरी अपराध महाशाखाले पनि अनुसन्धान सुरु गरेको छ।

महानगरिय प्रहरी परिसर र महाशाखाबाट करिब सयजना प्रहरी सादा पोसाकमा खटिएका छन्। काठमाडौं महानगरिय प्रहरी परिसरले उपत्यकाभित्र रहेका सानाठूला सबै तहका ‘गुन्डा’ लाई निगरानीमा राखेको छ।

सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कंदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी थिइन्। त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

सांसद पाल संसदीय सुनुवाइ समितिकी सदस्य हुन्। सरकारले बुधबारदेखि संसदीय सुनुवाइ समितिका सबै सदस्यलाई अंगरक्षक उपलब्ध गराएको छ। १५ सदस्यीय समितिका सातजनाले अंगरक्षक लिएका छन्। अरुले लिएका छैनन्।
प्रकाशन मिति–२०७५ साल साउन १८ गते शुक्रबार ।